संसद्का ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी, खुवाउनेछन् शपथ

185
0
Share:

काठमाडौं । अर्जुननरसिंह केसी यसपालिको प्रतिनिधिसभाका २७५ मध्ये सबैभन्दा पाका सदस्य हुन् । नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका केसी ७८ वर्षका भए । निर्वाचन आयोगले राखेको उमेर विवरणमा उनी हाराहारीका अरू सांसद छैनन् । प्रत्यक्षतर्फ म्याग्दीबाट स्वतन्त्र रूपमा चुनाव जितेका महावीर पुन ७१ वर्षीय हुन् । मनाङबाट निर्वाचित कांग्रेसका टेकप्रसाद गुरुङ पनि ७१ वर्षकै छन् । रुकुम पूर्वबाट सांसद निर्वाचित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को उमेर ७० वर्ष हो ।

समानुपातिकतर्फबाट निर्वाचित भएकामा नेकपाका प्रमेश हमाल ७१, कांग्रेसकी रुक्मिणी कोइराला ७०, नेकपा (एमाले)का पुष्पकराज कँडेल ७० वर्षका हुन् । अरू सांसद यसभन्दा कम उमेरका छन् । त्यसैले केसी संसद्का ज्येष्ठ सदस्य देखिएका छन । उनी ०४८ र ०५१ सालमा नुवाकोट-३ बाट निर्वाचित भएका थिए । ०५६ मा सोही क्षेत्रमा पराजित भए ।

०६४ को पहिलो संविधानसभा निर्वाचनमा केसीले नुवाकोट-१ बाट चुनाव हारे । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । ०७४ मा उनले नुवाकोट-२ बाट चुनाव हारे । ०७९ को निर्वाचनमा भने उनले नुवाकोट-२ बाट चुनाव जितेका थिए ।

उनी पञ्चायतकालमा नै स्वास्थ्य राज्यमन्त्री बनेका थिए । पछि उनी मन्त्री पनि बने । संसद्का ज्येष्ठ सदस्यले पहिले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनेछन् । त्यसपछि ज्येष्ठ सदस्यले अरू सांसदलाई शपथ खुवाउने प्रावधान छ । यस्तै, सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यले संसद्को अध्यक्षता गर्ने व्यवस्था छ । सभामुखको निर्वाचन ज्येष्ठ सदस्यले तोकेको दिन र समयमा हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: