लेखनाथमा ३ महिने प्लम्बिङ तालिम सुरु, सीप सिकेर आत्मनिर्भर बन्ने अवसर

Share:

पोखरा । युवालाई सीपयुक्त बनाउँदै स्वरोजगारतर्फ अग्रसर गराउने उद्देश्यसहित लेखनाथ उद्योग वाणिज्य संघमा ३ महिने प्लम्बिङ तालिम सुरु भएको छ।

व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजना र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा सोमबारदेखि सुरु भएको तालिमको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।

कार्यक्रममा बोल्दै संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले युवालाई उद्यमशील र आत्मनिर्भर बनाउने लक्ष्यका साथ तालिम आयोजना गरिएको बताइन्। स्वदेशमै केही गर्न चाहने र वैदेशिक रोजगारीमा जाने दुवैका लागि यस्ता तालिम उपयोगी हुने उनको भनाइ थियो। उनले पहिलो चरणपछि आवश्यकताअनुसार ‘एड्भान्स्ड’ तालिमसमेत सञ्चालन गर्ने योजना रहेको जानकारी दिइन्।

उनले तालिममा राज्य र निजी क्षेत्रको लगानी रहेको उल्लेख गर्दै सहभागीहरूलाई लगनशील भएर सीप सिक्न आग्रह गरिन्।यस्तै, व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराका प्रमुख अनिल सुवेदीले सीपले व्यक्तिलाई आत्मनिर्भर बनाउने भन्दै तालिमलाई व्यवसायिक दृष्टिकोणबाट लिन सहभागीहरूलाई सुझाए।

संघका निवर्तमान अध्यक्ष विनोद श्रेष्ठले संघले विगतदेखि नै विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिँदै तालिमपश्चात् सीपको प्रयोग भए/नभएको अनुगमन गर्ने र आवश्यक परे रोजगारीमा जोड्न सहयोग गर्ने बताए।

कार्यक्रममा संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले तालिमले व्यक्तिलाई सिर्जनशील र रोजगारमुखी बनाउने उल्लेख गर्दै सक्रियताका साथ सहभागी हुन आग्रह गरे। संघकी अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: