
पोखरा । कास्की प्रहरीले लागू औषध कारोबारविरुद्ध कारबाही तीव्र पार्दै पोखरामा ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। मंगलबार राति करिब ९:४५ बजे पोखरा महानगरपालिका-१० रामघाट क्षेत्रमा लागू औषध बिक्री भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले २० वर्षीय शिव गिरीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट संयुक्त रूपमा खटिएको टोलीले गिरीको साथबाट ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ। बरामद पदार्थको तौल डिजिटल तराजुमा गर्दा ८ ग्राम १५ मिलिग्राम (प्लास्टिक बाहेक ८ ग्राम ३ मिलिग्राम) रहेको प्रहरीले जनाएको छ। साथै एक थान मोबाइल समेत नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका गिरीमाथि लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले लागू औषध कारोबार नियन्त्रणका लागि यस्ता कारबाहीलाई अझ सशक्त बनाउँदै जाने र शंकास्पद गतिविधिबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
