
पोखरा । पोखरास्थित जनप्रिय माध्यमिक विद्यालय मा आयोजित अभिभावक भेला उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। विद्यालयको समग्र विकास र व्यवस्थापन सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको भेलाले महत्वपूर्ण निर्णयहरू गर्दै नयाँ नेतृत्व चयन गरेको छ।
भेलाबाट विद्यालय व्यवस्थापन समितिमा अभिभावकका तर्फबाट सरस्वती शाही पोख्रेल, टंकप्रसाद सुवेदी र देवीप्रसाद त्रिपाठी सर्वसम्मत रूपमा चयन भएका छन्।
त्यसैगरी, शिक्षक-अभिभावक संघको अध्यक्षमा केदार धमला चयन हुँदा सदस्यहरूमा रिङ्कु जैसवाल, माया पाण्डे, पानमाया परियार, अनु सिंह, सुशिला श्रेष्ठ, सपना पराजुली र कवितादेवी ढकाल रेग्मी सर्वसम्मत रूपमा चयन भएको जानकारी छनौट समितिका संयोजक रामप्रसाद तिवारीले दिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटीले विद्यालयका गतिविधि प्रस्तुत गर्दै जनप्रिय माविलाई नमुना विद्यालय बनाउने लक्ष्यसहित रचनात्मक शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिएको बताए। झण्डै १७ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयलाई गुणस्तरीय शिक्षा र सक्षम जनशक्ति उत्पादनको केन्द्र बनाउने प्रतिबद्धता उनले व्यक्त गरे।
सभामा ऋषिराम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा रुद्रनाथ बरालले विद्यालयको विकासका लागि वडाबाट पूर्ण सहयोग रहने बताउँदै नमुना विद्यालय निर्माणका लागि आवश्यक बजेट अभाव नहुने दाबी गरे।
उल्लेख्य अभिभावक उपस्थित रहेको भेलामा विद्यालय सुधार, शैक्षिक गुणस्तर र भविष्यका योजनाबारे अभिभावकहरूले सक्रिय रूपमा जिज्ञासा राखेका थिए।

