पोखरामा इन्धन अभावको हल्ला: कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरे कारबाही हुने

Share:

पोखरा । मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण विश्वभर इन्धन आपूर्तिमा देखिएको अस्थिरताले नेपाल पनि प्रभावित हुन थालेको छ। छिमेकी भारतमा समेत खाना पकाउने एलपीजी ग्याँस र पेट्रोलियम पदार्थको अभावका समाचार सार्वजनिक भइरहँदा नेपालमा पनि आपूर्ति व्यवस्थापनप्रति चिन्ता बढेको छ।

यही सन्दर्भमा पोखरा महानगरपालिकाले इन्धनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ। महानगरका अनुसार केही व्यापारीले विभिन्न बहानामा इन्धन लुकाउने, आपूर्ति रोकेर मूल्य बढाउने जस्ता गतिविधि गर्न सक्ने आशंका रहेकाले त्यसतर्फ विशेष निगरानी राखिएको हो।

महानगरपालिकाले स्पष्ट रूपमा भनेको छ-कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नु उपभोक्ता हितविपरीतको दण्डनीय अपराध हो। यस्तो कार्यमा संलग्न पाइएमा कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

साथै, महानगरले व्यवसायी तथा सर्वसाधारण सबैलाई जिम्मेवार बन्न आग्रह गर्दै बजारलाई अस्थिर बनाउने कुनै पनि गतिविधिमा संलग्न नहुन अनुरोध गरेको छ। यदि कसैले इन्धनको कालोबजारी वा अनियमितता गरेको पाइएमा तत्काल महानगरपालिकामा जानकारी गराउन पनि अपिल गरिएको छ।

“बेलैमा सजगता अपनाऔँ, पोखरालाई संकटबाट जोगाऔँ” भन्ने सन्देशसहित महानगरले पारदर्शी आपूर्ति प्रणाली कायम राख्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताएको छ।

कमेन्ट गर्नुहोस्
Share: