काठमाडौँ, मङ्सिर ११ / नेपाली क्रिकेट खेललाई नयाँ उचाइमा पुर्याएका राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके आफ्नो प्रशिक्षण यात्रालाई पूर्णविराम लगाउँदै भोलि शनिबार नेपालबाट बिदा हुँदै छन्।
नेपालमा करिब चार वर्ष प्रशिक्षकका रुपमा बिताउनुभएका दासानायकेले नेपाली क्रिकेट खेलको स्तरोन्नति गर्दै नेपालबाट बिदा हुन लागेका हुन्। सन् २०११ सेप्टेम्बरमा नेपाल आएका दासानायकेकै नेतृत्वमा नेपालले डिभिजन चारबाट उक्लेर डिभिजन एकसम्मको यात्रा तय गर्न सफल भएको थियो। त्यस्तै, उनकै नेतृत्वमा नेपाली टोलीले बङ्गलादेशमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकपसमेत खेल्ने अवसर प्राप्त गरेको थियो। नेपाललाई एक दिवसीय वरियता दिलाउने मूल लक्ष्य पूरा गर्न भने उनी चुके।
प्रशिक्षक दासानायकेले नेपाली खेलाडी निकै मेहनती भएको भन्दै प्रशंसा गरेका छन्। साथै उनले नेपाललाई एक दिवसीय वरियता दिलाउन नसकेकामा दुःख पनि व्यक्त गरेका छन्। त्यतिबेला कप्तान पारसलगायतका केही महत्वपूर्ण खेलाडीहरु ‘फिट’ नभएका कारण पनि प्रतियोगितामा आफ्नो सोचाइअनुरुपको खेल प्रदर्शन गर्न नसकेको प्रशिक्षक दासानायकेको भनाइ छ। न्युजिल्यान्डमा भएको प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेपछि नेपालले उक्त अवसर गुमाएको थियो। दासानायकेको करार अवधि डिसेम्बरसम्म रहेको भएपनि विभिन्न कारण देखाउँदै उनले केही समयअघि राजीनामा दिएका थिए।
प्रशिक्षक पुवुदु दाशानायकेलाई आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले परिषदमा बिदाई गरे। उक्त अवसरमा बोल्दै सदस्य सचिव विष्टले नेपालको क्रिकेटको विकास, सफलता र खेलाडी उत्पादनमा पुवुदुको योगदानको प्रशंसा गर्दै उनको योगदानको नेपाल सरकार, परिषद र समस्त खेल क्षेत्रले सदा स्मरण गरिरहने बताए।
“उहाँले नेपाली क्रिकेटमा गरेको सेवाको राखेप सदा उहाँप्रती कृतज्ञ रहने छ। उहाँको आवश्यकता पुनः महशुस भएमा आगामी दिनमा उहाँलाई पुनः नेपाल बोलाउन सकिने छ ” सदस्य सचिव विष्टले भने। विदाई कार्यक्रममा बोल्दै प्रशिक्षक पुवुदुले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको भन्दै नेपाली खेलाडीहरुमा जुन किसिमको खेल भावना रहेको छ त्यसले कुनै दिन नेपाली क्रिकेटलाई उच्च विन्दुमा पुर्याउन सक्ने बताए। उनले आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद परिषद, नेपाल सरकारबाट सदा सहयोग पाएकोमा धन्यवाद ब्यक्त गरे।
