पोउवा संघले दियो महिला उद्यमीलाई भ्याट र करसम्बन्धी तालिम

Share:

पोखरा । पोखरा उद्योग वाणिज्य संघ ले महिला उद्यमी र व्यवसायीलाई लक्षित गर्दै भ्याट तथा करसम्बन्धी विशेष तालिम आयोजना गरेको छ। पोखरा मा सम्पन्न दुईदिने तालिममा करिब ६५ जना महिलाको सक्रिय सहभागिता रहेको थियो।

जर्मन सहयोग संस्था GIZ अन्तर्गतको राजश्व सुधार परियोजनाको सहयोगमा सञ्चालन गरिएको तालिममा चार्टर्ड एकाउन्टेन्ट विवेक श्रेष्ठले प्रशिक्षण दिएका थिए। तालिम विशेष गरी महिलालाई कर प्रणालीबारे जानकारी, भ्याट प्रक्रिया र वित्तीय व्यवस्थापनमा सक्षम बनाउने उद्देश्यले केन्द्रित थियो।

समापन कार्यक्रममा पूर्वअध्यक्ष संजिवबहादुर कोइरालाले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै करसम्बन्धी ज्ञान हरेक नागरिकका लागि आवश्यक रहेको बताए। उनले कर बुझाउने प्रक्रियामा लापरवाही गर्दा कडा जरिवाना भोग्नुपर्ने भएकाले सचेत रहन आग्रह गरे।

कार्यक्रममा सहभागीहरूको तर्फबाट बोल्दै स्वास्थ्यकर्मी जिता बरालले ग्रामीण तथा आर्थिक रूपमा कमजोर महिलासम्म यस्ता तालिम विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन्।

यसअघि उद्घाटन कार्यक्रममा संघका अध्यक्ष गोकर्ण कार्कीले कर कानून परिवर्तन भइरहे पनि आधारभूत सिद्धान्त स्थिर रहने भएकाले यस्ता तालिम दीर्घकालीन रूपमा उपयोगी हुने बताए। साथै, महिलाहरू व्यवसाय र वित्त व्यवस्थापनमा सक्रिय हुँदा आर्थिक पारदर्शिता बढ्ने उनको भनाइ थियो।

आयोजकका अनुसार यस्तो तालिमले करदाताको क्षमता अभिवृद्धि गर्दै राजश्व वृद्धि र व्यवस्थित आर्थिक प्रणाली निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: