पोखरा । महावीर पुनले अब बन्ने नयाँ सरकारलाई शिक्षा सुधारका लागि दुई महत्वपूर्ण सुझाव दिएका छन्। म्याग्दीबाट निर्वाचित सांसद पुनले सामाजिक सञ्जालमार्फत सरकारलाई स्पष्ट सन्देश दिएका हुन् । अब शिक्षा क्षेत्रमा देखिएको बेथिति अन्त्य हुनैपर्छ। पुनले पहिलो सुझावका रूपमा विश्वविद्यालय, विद्यालय र स्वास्थ्य प्रतिष्ठानहरूमा हुने राजनीतिक भागबण्डा र हस्तक्षेप पूर्ण रूपमा हटाउनुपर्ने बताएका छन्।
उनका अनुसार शैक्षिक संस्थालाई राजनीति मुक्त बनाएर मात्रै गुणस्तरीय शिक्षा सम्भव हुन्छ। त्यसका लागि विश्वविद्यालय ऐन र शिक्षा ऐन मा व्यापक संशोधन आवश्यक रहेको उनले औंल्याएका छन्।
त्यस्तै दोस्रो सुझावमा उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) लाई पूर्ण रूपमा पुनर्संरचना गर्नुपर्ने बताएका छन्। सैद्धान्तिकभन्दा व्यवहारिक र सीपमूलक शिक्षामा जोड दिनुपर्नेमा उनको विशेष जोड छ।
जेनजी आन्दोलन पछि बनेको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका पुनले सार्वजनिक शिक्षा सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए। तर, मन्त्री हुँदा शिक्षा सम्बन्धी ऐन तथा नियमावली ल्याउन नसकेकोमा उनले असन्तुष्टि जनाउँदै आएका छन्।
उनका अनुसार शिक्षामा मौलाएको भ्रष्टाचार, अनियमितता, मनपरीतन्त्र र राजनीतिकरण अन्त्य गर्न कानुनी सुधार अपरिहार्य छ। उनी गत पुसमै शिक्षा नियमावली, विश्वविद्यालय ऐन, उच्च शिक्षा ऐन र अनुसन्धान तथा नवप्रवर्तन कोष सम्बन्धी कानुन ल्याउने तयारीमा थिए, तर आफ्नै सरकारबाट असहयोग भएको उनको गुनासो छ।
