पोखरामा जुवातास खेल्दै गरेका ११ जना रंगेहात पक्राउ, ३.४६ लाख नगद बरामद

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार ७ गते साँझ करिब ७:३० बजे पोखरा महानगरपालिका वडा नं. १७ ड्यामसाइड क्षेत्रमा जुवातास खेल भइरहेको विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले छापा मारेको थियो।

छापामार्दा ११ जना व्यक्तिलाई नगद ३ लाख ४६ हजार ९६५ रुपैयाँ र १० बुक ताससहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी हरी बहादुर बस्नेतले समाजमा शान्ति सुरक्षा कायम राख्न यस्ता गैरकानुनी गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई अझ कडा बनाइने बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: