नागरिकता लिएपछि सिधै राष्ट्रिय परिचयपत्र: अब छुट्टै फारम र लाइनको झन्झट हट्यो

250
0
Share:

काठमाडौं । के तपाईंले नयाँ नागरिकता बनाएका छौ? यदि त्यसो हो भने अब राष्ट्रिय परिचयपत्र बनाउन जाँदा तपाईंले झन्झट बेहोर्नुपर्ने छैन किनकि नयाँ नागरिकता लिएका नागरिकले राष्ट्रिय परिचयपत्र बनाउँदा छुट्टै फारम भरेर लाइन बस्नुपर्दैन ।

पहिला छुट्टै फारम भरेर शुल्क पनि तिर्नुपर्ने र घन्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता थियो । अब भने सहज र छिटो तरिकाले राष्ट्रिय परिचयपत्र बन्नेछ । प्रि इनरोलमेन्ट फारम नभरीकनै नागरिकता नम्बरका आधारमा राष्ट्रिय परिचयपत्र लिन सकिने भएको हो ।

नेपाल सरकारको डिजिटल सुशासन र प्रशासनिक सरलीकरणको अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट उद्घाटन गर्दै अब ७७ वटै जिल्लाबाट प्रि इनरोलमेन्ट फारम नभरिकनै नागरिकता नम्बरका आधारमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिई राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिनेछ । उक्त सेवाको आज एक विशेष कार्यक्रमबीच गृहमन्त्री ओमप्रकाश अर्यालले शुभारम्भ गरे ।

वर्षौंदेखि हुन नसकेको र सेवा प्रवाहमा नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि छुट्टाछुट्टै फारम भरी समयसमेत खर्चिनुपर्ने अवस्थालाई हटाउन, सेवा प्रवाहमा सरल र सहज पहुँच स्थापित गरिएको छ । सो अवसरमा गृहमन्त्री अर्यालले नागरिक सेवा प्रवाह र सुशासनका लागि एनआइडी इन्ट्रिगेसन उपयोगी र सान्दर्भिक हुने बताए । उनले परिवर्तित प्रणाली डिजिटल सुशासनको मानक भएको उल्लेख गरे ।

गृहमन्त्री अर्यालले यो पहल डिजिटल सुशासन सुदृढीकरण, सार्वजनिक सेवा प्रवाह सुधार तथा एकीकृत डिजिटल परिचय प्रणाली प्रवर्धनतर्फ सरकारको महत्वपूर्ण कदमका रूपमा लिइएको बताए । यस नयाँ व्यवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने नेपाली नागरिकले अब राष्ट्रिय परिचयपत्रका लागि छुट्टै अनलाइन पूर्व–दर्ता फारम भर्नु नपर्ने भएको छ । यसले सेवा प्रवाहलाई सरल, छरितो तथा नागरिकमैत्री बनाएको मन्त्री अर्यालको भनाइ छ ।

यो सेवा केन्द्रीय नागरिकता व्यवस्थापन सूचना प्रणाली (सीसीएमआईएस) र राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली (एनआइडीएमआईएस) बीच एपीआईमार्फत गरिएको अन्तर-आबद्धताबाट सम्भव भएको हो । नागरिकताको प्रमाणपत्र प्राप्त गरेकै दिन सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय परिचयपत्र विवरण दर्ता केन्द्रमा नागरिकको ११ अंकको नागरिकता नम्बर प्रविष्ट गरेपछि सम्बन्धित नागरिकका विवरण स्वतः सीसीएमआईएसबाट एनआइडीएमआईएसमा प्राप्त भई औंठाछाप, आँखा (आइरिस), फोटो तथा हस्ताक्षरजस्ता जैविक विवरण संकलन गरी राष्ट्रिय परिचयपत्र दर्ता प्रक्रिया सम्पन्न गरिन्छ ।

देशभर दैनिक करिब आठ हजारदेखि नौ हजार नागरिकता प्रमाणपत्र जारी हुने अवस्थालाई मध्यनजर गर्दै यस प्रणालीमार्फत ठूलो संख्यामा नागरिकले नागरिकता प्राप्त गर्ने दिनमै राष्ट्रिय परिचयपत्रमा दर्ता हुने सुविधा प्राप्त गर्नेछन् । यसबाट सेवा लिने समय घट्ने, पुनः कार्यालय धाउनुपर्ने अवस्था कम हुने तथा सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

सो अवसरमा जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेकै दिन राष्ट्रिय परिचयपत्र सेवा प्राप्त गर्ने पहिलो नागरिकलाई राष्ट्रिय परिचयपत्रसमेत हस्तान्तरण गरिएको छ । गृहमन्त्री अर्यालले सो परिचयपत्र हस्तान्तरण गरे । यस प्रणाली लागू हुनुअघि नागरिकता प्राप्त गरिसकेका नागरिकले भने विद्यमान अनलाइन पूर्व–दर्ता प्रणालीमार्फत राष्ट्रिय परिचयपत्र दर्ता गर्न सक्नेछन् ।

कमेन्ट गर्नुहोस्
Share: