पोखरामा सामुदायिक विद्यालयको कायापलट: भर्ना पाउनै मुस्किल, गुणस्तरमा उल्लेख्य सुधार

Share:

पोखरा । कुनै समय विद्यार्थी अभावले सुनसान जस्तै देखिने सरकारी विद्यालयहरू अहिले चहलपहलले भरिन थालेका छन्। पोखरा महानगरपालिका ले शिक्षा क्षेत्रमा ल्याएको सुधारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण ह्वात्तै बढाएको हो।

मेयर धनराज आचार्य का अनुसार, नेतृत्व सम्हालेयता महानगरभित्रका सामुदायिक विद्यालयहरूमा ८ हजारभन्दा बढी नयाँ विद्यार्थी थपिएका छन्। “पहिले विद्यार्थी नपाएर चिन्तित विद्यालयहरू अहिले भर्ना लिनै हम्मे-हम्मे पर्ने अवस्थामा पुगेका छन्,” उनले बताए।

महानगरभित्रका कतिपय विद्यालयमा हाल २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। यसले निजी विद्यालयसँगको प्रतिस्पर्धामा सामुदायिक विद्यालयहरू मजबुत बन्दै गएको स्पष्ट संकेत दिएको छ।

शिक्षाको गुणस्तर सुधार गर्न महानगरले ५५ बुँदे सुधार योजना कार्यान्वयनमा ल्याएको छ। यी योजनाले विद्यालयको भौतिक पूर्वाधार सुधार मात्र होइन, शिक्षकको दक्षता र व्यवस्थापन क्षमतामा समेत सकारात्मक परिवर्तन ल्याएको दाबी गरिएको छ।

शिक्षा क्षेत्रसँगै विकास खर्च प्रणालीमा पनि व्यापक परिवर्तन गरिएको छ। मेयर आचार्यले बजेटको विकेन्द्रीकरण गर्दै वडा तहलाई सशक्त बनाएका छन्। उनका अनुसार, अघिल्लो कार्यकालमा पाँच वर्षमा प्राप्त हुने बजेट अहिलेका वडा अध्यक्षहरूले पहिलो वर्षमै पाएका छन्।

“स्थानीय तह बलियो बने मात्रै समग्र महानगरको विकास सम्भव हुन्छ,” उनले भने। वडा तहमा पर्याप्त बजेट पुगेपछि साना-ठूला योजनाहरू तीव्र गतिमा कार्यान्वयन हुन थालेका छन्।

पहिले जस्तो माथिल्लो निकाय धाउनुपर्ने बाध्यता हट्दै गएको र स्थानीय आवश्यकताअनुसार वडाबाटै कामहरू अघि बढिरहेको बताउँदै मेयर आचार्यले वडा र वडा अध्यक्षहरूको सफलता नै महानगरको सफलता हुने स्पष्ट पारे।

कमेन्ट गर्नुहोस्
Share: