‘जाउँ है पोखरा’ अभियान वीरगंजबाट सुरु, पोखरा-सिमरा हवाई सेवा पुनः सञ्चालनको माग

Share:

पोखरा । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘जाउँ है पोखरा’ अभियान यस वर्ष वीरगंजबाट औपचारिक रूपमा सुरु गरिएको छ। होटल संघ पोखरा नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहकार्यमा सुरु भएको अभियान चैत १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

अभियानको उद्घाटन गर्दै हरिप्रसाद गौतमले पर्यटन नीति सुधार भए देशले आर्थिक रूपमा ठूलो फड्को मार्न सक्ने बताए। उनले सिमानाकामा भारतीय पर्यटकमाथि हुने झन्झट र अत्यधिक चेकजाँचप्रति असन्तुष्टि जनाउँदै यसले पर्यटनमा नकारात्मक असर पारिरहेको उल्लेख गरे।

आयोजक संस्थाका अध्यक्ष लक्ष्मण सुवेदी ले नेपाली पर्यटन क्षेत्रले द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिडलगायतका संकटहरू सामना गर्दै आएको स्मरण गर्दै अहिले पुनः उकास्ने समय आएको बताए। उनले विगतमा सञ्चालन भएर रोकिएको पोखरा-सिमरा हवाई सेवा पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी, मधेश प्रदेशका पूर्व मन्त्री ओमप्रकाश शर्मा ले उक्त हवाई सेवा बन्द हुनु दु:खद भएको बताउँदै यात्रु अभाव भए पनि सरकार र निजी क्षेत्रको सहकार्यमा उडान सुचारु गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा पोखराको होटल क्षेत्रमा करिब ६ खर्ब रुपैयाँ लगानी रहेको जानकारी दिँदै आयोजकले पोखरा पुग्ने पर्यटकमध्ये करिब ४० प्रतिशत आन्तरिक पर्यटक हुने बताएका छन्। साथै, चैत २९ देखि बैशाख १ गतेसम्म फेवाताल किनारस्थित लेकसाइडमा आयोजना हुने नववर्ष महोत्सवमा सहभागी हुन विशेष निमन्त्रणा दिइएको छ, जहाँ होटल दररेटमा २५ प्रतिशतसम्म छुटको घोषणा गरिएको छ।

मणिराज लामिछाने ले पोखरा लाई पहिलो रोजाइको पर्यटकीय गन्तव्य बनाउन व्यवसायीहरूसँग सहकार्य भइरहेको बताए।कार्यक्रममा व्यवसायीहरूले भारतीय तथा तराई मूलका पर्यटकमाथि हुने विभेद, सिमानामा हुने झन्झट, पोखरामा ट्याक्सीले मनपरी भाडा असुल्ने प्रवृत्ति तथा भारतीय सवारी सञ्चालनमा अवरोधजस्ता समस्याहरू उठाएका थिए। साथै, सिमानाकामा दिइने प्रज्ञापनपत्र अनलाइनमार्फत उपलब्ध गराउन माग गरिएको छ।

यसैबीच, पोखरा मा बढ्दो फोहोर, अव्यवस्थित सहरीकरण तथा फेवाताल को संरक्षणमा देखिएको चुनौतीप्रति पनि चिन्ता व्यक्त गरिएको छ। कार्यक्रममा कृष्णप्रसाद आचार्य ले पोखरा आसपासका उत्कृष्ट पदयात्रा गन्तव्यको चर्चा गर्दै पूर्व र पोखराबीच पर्यटन तथा व्यापार आदानप्रदानले दुवै क्षेत्रलाई लाभ पुग्ने विश्वास व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: