
काठमाडौं । झापा-५ बाट सानदार जित निकालेका बालेन्द्र साह यतिबेला सार्वजनिक रूपमा नदेखिए पनि सत्ता सम्हाल्ने तयारीमा तीव्र रूपमा जुटिरहेको खुलासा भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का नेताहरूका अनुसार बालेन विश्राममा नभई सिंहदरबार प्रवेशअघि रणनीतिक गृहकार्यमा व्यस्त छन्।
दुई हप्तायता काठमाडौंको एक होटलमा बसेर उनले देशको प्रशासनिक संरचना नै पुनर्संरचना गर्ने विषयमा व्यापक छलफल गरिरहेका छन्। यस क्रममा पार्टी सभापति रवि लामिछाने सँग पटक-पटक गोप्य भेटवार्ता भएको बताइएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री बनेपछि पहिलो सय दिनका लागि ‘गेम-चेन्जिङ’ योजना तयार भइसकेको छ। पूर्वप्रशासक, सुरक्षा विज्ञ र प्राविधिक टोलीसँग परामर्श गर्दै न्यूनतम साझा कार्यक्रमदेखि मन्त्रिपरिषद्को पहिलो निर्णयसम्म अन्तिम रूप दिइएको दाबी गरिएको छ।
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार सरकारको पहिलो निर्णय नै ‘सरप्राइजिङ’ हुने तयारी छ। बालेनले चैत १३ गते वैदिक विधिअनुसार विशेष समारोहबीच प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय गरिएको छ।
पार्टीका नेताहरू मनिष झा र सुशान्त वैदिक का अनुसार मन्त्रालय संख्या घटाएर करिब १५ मा सीमित गर्ने तयारी छ। अनावश्यक संरचना मर्ज गर्दै ‘स्मार्ट गभर्नेन्स’ लागू गरिने लक्ष्य राखिएको छ।
सार्वजनिक सेवामा सुधार ल्याउन बालेनले ड्राइभिङ लाइसेन्स प्रक्रियामा भइरहेको ढिलासुस्ती अन्त्य गर्ने र सरकारी सेवा पूर्ण रूपमा डिजिटल बनाउने प्राथमिकता तय गरेका छन्। पार्टी कोषाध्यक्ष लिमा अधिकारी का अनुसार सय दिनमै जनताले प्रत्यक्ष परिवर्तन महसुस गर्ने गरी काम अघि बढाइनेछ।
पार्टीले वर्षौँदेखि प्रभावहीन बनेका २० भन्दा बढी विभाग, बोर्ड र विकास समिति खारेज गर्ने तयारी गरेको छ। राजनीतिक भागबण्डामा आधारित करिब ११७० नियुक्ति पुनरावलोकन गर्दै अनावश्यक संरचना हटाउने योजना बनाइएको छ।
संवैधानिक निकाय र आयोगहरूमा अब राजनीतिक होइन, विज्ञताको आधारमा नियुक्ति गरिने संकेत गरिएको छ। साथै २०४६ यताका उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने निर्णयसमेत आउन सक्ने चर्चा छ।
रास्वपाका शीर्ष नेताहरूबीच सरकार गठनदेखि प्राथमिकता निर्धारणसम्म निरन्तर संवाद भइरहेको बताइन्छ। निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण बनाउने र युवामा आशा जगाउने कार्यक्रम ल्याउने तयारीले बालेन नेतृत्वको सम्भावित सरकारप्रति चासो र अपेक्षा दुवै बढाएको छ।
