
काठमाडौं । हाल देशको बदलिँदो परिस्थितिलाई ध्यानमा राख्दै नेपाल प्रहरी ले आफ्ना कर्मचारीहरूलाई बिदा नदिन कडा निर्देशन जारी गरेको छ। शनिबार प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले परिपत्र गर्दै प्रसूति र किरिया बिदा बाहेक अन्य सबै बिदा स्थगित गर्न मातहतका निकायलाई आदेश दिएको हो।
प्रशासन शाखाका डीएसपी सन्तोष निरौला द्वारा पठाइएको पत्रमा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो निर्णय लिनुपरेको उल्लेख छ। “अर्को आदेश नभएसम्म कुनै पनि प्रकारको बिदा नछाड्न तथा सिफारिस नगर्न” स्पष्ट निर्देशन दिइएको छ।
यति मात्र होइन, हाल बिदामा रहेका प्रहरी अधिकृतहरूलाई समेत तुरुन्तै कार्यस्थलमा फर्किन भनिएको छ। जिम्मेवारी सम्हालिरहेका अधिकारीहरूलाई अविलम्ब हाजिर हुन अनुरोध गरिएको पत्रमा उल्लेख छ।
यो निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, विभिन्न विभाग, ब्युरो, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानदेखि देशभरका प्रदेश प्रहरी कार्यालयसम्म पठाइएको छ।
यसबीच, केपी शर्मा ओली र रमेश लेखक लाई पक्राउ गरिएको घटनाले देशको राजनीतिक माहोल तातिएको छ। उक्त पक्राउको विरोधमा नेकपा (एमाले) देशव्यापी आन्दोलनमा उत्रिएको छ।
