
पोखरा । पोखरामा धार्मिक र सांस्कृतिक महत्व बोकेको बरेली पौडेल कुल मन्दिरको भव्य शिलान्यास गरिएको छ। पोखरा महानगरपालिका-३३ बरखोप्राबारीमा रामनवमीको पावन अवसर पारेर आयोजित कार्यक्रममा कुल मन्दिर निर्माणको औपचारिक सुरुआत गरिएको हो।
कार्यक्रममा पौडेल वंश महासंघ का केन्द्रीय अध्यक्ष हरिराम पौडेल र गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी पौडेल ले संयुक्त रूपमा शिलान्यास गरेका थिए।
शिलान्यास कार्यक्रममा वक्ताहरूले वंशीय एकता, परम्परा संरक्षण र सांस्कृतिक पहिचान जोगाउने विषयमा जोड दिएका थिए। सो अवसरमा खड्कराज गनेश पौडेल मन्त्री नियुक्त भएकोमा खुशी व्यक्त गर्दै सफल कार्यकालको शुभकामना पनि दिइएको थियो।
कार्यक्रममा सहभागीहरूले “एकतामा बल हुन्छ” भन्ने सन्देश दोहोर्याउँदै वंशीय सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
कुल पूजा व्यवस्थापन समितिका अध्यक्ष शंकरप्रसाद पौडेल को अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव हरिराम पौडेल ले सञ्चालन गरेका थिए।
निर्माण समितिका अनुसार कुल मन्दिर निर्माणका लागि करिब १६ लाख र धर्मशाला निर्माणका लागि २४ लाख लागत अनुमान गरिएको छ। आवश्यक सहयोग संकलन सुरु भइसकेको र छिट्टै निर्माण कार्य अगाडि बढाइने जनाइएको छ।
