
पोखरा । नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित प्राज्ञ नगेन सिंह ठकुरीले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयहरू उल्लेख गर्दै प्रधानमन्त्री बालेन शाह लाई ९ बुँदे सुझावसहित ज्ञापनपत्र पेश गरेका छन् । उक्त ज्ञापनपत्र कास्की जिल्ला प्रशासन कार्यालयमार्फत बुझाइएको हो।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कलाकारहरूले देशको संस्कृति, पहिचान, पर्यटन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै यस अभियानको प्रशंसा गरिन् । उनले प्रस्तुत सुझावहरू प्रधानमन्त्रीसमक्ष पुर्याउने प्रतिबद्धता समेत जनाइन्। त्यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नेपाल कला र संस्कृतिमा धनी देश भएकाले यस्ता पहलले थप ऊर्जा दिने विश्वास व्यक्त गरिन् ।
ज्ञापनपत्रमा नेपाललाई विश्वमै ललितकलाको केन्द्रका रूपमा विकास गर्न विभिन्न नीतिगत सुधार आवश्यक रहेको औंल्याइएको छ। यसमा नेपाल ललितकला विकास बोर्डको स्थापना, प्रत्येक सरकारी विद्यालयमा अनिवार्य ललितकला शिक्षकको व्यवस्था, सरकारी कार्यालयहरूमा कलाकृति राख्ने प्रावधान, तथा ललितकला पर्यटन प्रवर्द्धनजस्ता विषय समेटिएका छन्।
त्यसैगरी विज्ञापन क्षेत्रमा कलाकारको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, अन्तर्राष्ट्रिय स्तरको कला पुरस्कार स्थापना गर्नुपर्ने, छुट्टै ललितकला विश्वविद्यालय खोल्नुपर्ने, कलाकारका कलाकृतिलाई बैंकमा धितो राखी ऋण उपलब्ध गराउनुपर्ने र संविधानमै ललितकलालाई राज्यको एक अङ्गका रूपमा समावेश गर्नुपर्ने मागहरू पनि राखिएका छन्।
प्राज्ञ ठकुरीले ऐतिहासिक कलाकार अरनिको को समयजस्तै स्वर्णिम युग पुनःस्थापना गर्न सकिने बताउँदै कलाकारहरूको विकासले नेपालको सांस्कृतिक पहिचानलाई उचाइमा पुर्याउनुका साथै पर्यटन र अर्थतन्त्रमा ठुलो योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनले सरकारले अघि सारेको १०० बुँदे कार्यसूचीले मुलुकमा सुशासन र समृद्धिको नयाँ आशा जगाएको पनि उल्लेख गरे। ज्ञापनपत्रको अन्त्यमा उनले वर्तमान नेतृत्वकै पालामा नेपालले ललितकलामा ‘डायमण्ड युग’ हासिल गर्ने अपेक्षा व्यक्त गरेका छन्।
