
पोखरा । कास्की प्रहरीले पोखरामा सञ्चालन भइरहेको एक ‘ट्रान्स पार्टी’मा छापा मार्दै विदेशी नागरिकसहित ३८ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आज राति करिब १:३० बजे पोखरा महानगरपालिका-१८ स्थित एक स्थानमा गोप्य सूचनाको आधारमा छापा मारिएको हो। उक्त पार्टी बमेन्द्र पुन र भारतीय नागरिक अनुभव शर्माले आयोजना गरेको प्रहरीले जनाएको छ।
छापाका क्रममा पक्राउ परेकामध्ये ८ जनाको साथबाट MDMA, चरेश जस्तो देखिने पदार्थ, कोकिन, ICE (amphetamine), म्याजिक मशरूम, LSD लगायतका विभिन्न लागूऔषध बरामद गरिएको छ।
प्रहरीले लागूऔषध मुद्दामा ८ जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ भने ४ जनामाथि अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको छ। अन्य २६ जनालाई सोधपुछपछि अभिभावक तथा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा ब्राजिल, भारत लगायत विभिन्न देशका नागरिकसमेत रहेका छन्।
प्रहरीका अनुसार पछिल्लो समय पर्यटकीय क्षेत्रमा यस्ता अवैध पार्टीहरू बढ्दै गएको गुनासो आएपछि निगरानी कडा पारिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
