
पोखरा । नेपाली नयाँ वर्ष २०८३ को स्वागतका लागि फेवा नववर्ष महोत्सव को २१औं संस्करण भव्य रूपमा आयोजना हुने तयारी अन्तिम चरणमा पुगेको छ। होटल संघ पोखरा नेपाल ले बिहीबार पत्रकार सम्मेलन गर्दै चैत २९ देखि वैशाख १ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी दिएको हो।
संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार खहरेचोकदेखि सहिदचोकसम्मको सडक क्षेत्र महोत्सवको मुख्य केन्द्र बन्नेछ, जहाँ पर्यटन, संस्कृति र खानालाई विशेष प्राथमिकता दिइनेछ। “यस वर्षको महोत्सवले पोखराको मौलिकता र विविधता झल्काउनेछ,” उनले बताए।
मुख्य आकर्षणहरूमा सांस्कृतिक कार्यक्रमहरू (हरेक चौतारामा प्रस्तुति),परम्परागत पञ्चेबाजा प्रतियोगिता (१५ समूहको सहभागिता), स्वादिष्ट खाना प्रदर्शनी तथा पर्यटक दौड प्रतियोगिता सांगीतिक कन्सर्ट छन्।
महोत्सवलाई थप आकर्षक बनाउन होटलहरूले २५% सम्म छुट दिने घोषणा गरेका छन् भने eSewa मार्फत बुकिङ गर्दा १०% सम्म क्यासब्याक सुविधा पनि उपलब्ध हुनेछ। यसैबीच, महोत्सवको प्रचार–प्रसारका लागि “जाउँ है पोखरा” अभियान देशका विभिन्न सहरहरूमा सञ्चालन गरिएको छ, जसमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्य रहेको छ।
आयोजकका अनुसार महोत्सव अवधिभर करिब ३ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। होटल संघ पोखरामा आबद्ध ४२५ भन्दा बढी होटलहरूले यस कार्यक्रमलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन्, जसले १५ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी समेत प्रदान गर्दै आएका छन्।
