
पोखरा। ‘सुन्दर ठाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारीलाई तीव्रता दिइएको छ। यही चैत २७ देखि वैशाख ५ गतेसम्म सञ्चालन हुने महोत्सवलाई भव्य बनाउन आयोजक विष्णुपादुका क्लबले गृहकार्य तीव्र पारेको हो।
महोत्सवको पूर्वसन्ध्यामा शनिबार मूल आयोजक समितिका संयोजक वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा ‘महोत्सव तयारी विशेष भेला’ सम्पन्न भएको छ। उक्त भेलाले आगामी चैत २३ गते दिउँसो १:०० बजे विष्णुपादुका खेलमैदानस्थित क्लबको भवनमा पत्रकार सम्मेलन गर्ने निर्णय समेत गरेको छ।
महोत्सव मूल आयोजक समितिका संयोजक एवं क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठले हेमजा आलु महोत्सव अब पोखराको मात्र नभई देशकै एक ‘ब्रान्ड’ बनिसकेको बताए । महोत्सवका मुख्य उद्देश्यहरू हेमजामा उत्पादित आलु तथा ताजा तरकारीको वृहत् प्रदर्शन र प्रचारप्रसार गर्ने, हेमजालाई व्यावसायिक कृषि पर्यटन क्षेत्रका रूपमा देश-विदेशमा चिनाउने, कृषकहरूलाई उत्पादनमा प्रोत्साहन गर्ने,क्लब भवन निर्माण, तरकारी सङ्कलन तथा बिक्री केन्द्र निर्माण र विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने रहेका छन् ।
यस वर्षको महोत्सवमा कृषि र मनोरञ्जनलाई जोड्दै निम्न आकर्षणहरू प्रदर्शनीमा आलुको विशेष पहाड निर्माण गरिने, कृषकका लागि माटो परीक्षण, बोटबिरुवाको रोग निदान र वीउ विजन प्रदर्शनी, आलुका विभिन्न स्वादिला परिकारहरूको स्टल, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरूको प्रस्तुति र कृषक सम्मान रहनेछन् ।
भेलामा क्लबका पूर्व अध्यक्ष रमेश कार्की र निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठले विगतका महोत्सवका अनुभवबाट सिक्दै कमीकमजोरी सुधार्न र महोत्सवमा नयाँपन झल्काउने कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिए। विभिन्न उपसमितिका संयोजकहरूले हालसम्मको कार्यप्रगति प्रस्तुत गरेको उक्त भेलाको सञ्चालन सचिव विकल थापाले गरेका थिए । महोत्सवलाई सफल पार्न स्थानीय सरोकारवाला र सरकारवालाहरूले उत्साहजनक साथ दिने प्रतिबद्धता जनाएका छन् ।
