मालपोत कार्यालय लेखनाथबाट ५ जना बिचौलिया पक्राउ: सेवाग्राहीलाई सास्ती दिएको आरोप

Share:

पोखरा। मालपोत कार्यालय लेखनाथमा सेवाग्राहीलाई अनावश्यक दु:ख र हैरानी दिएको आरोपमा प्रहरीले पाँच जना बिचौलियाहरूलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका वडा नं. २९ स्थित मालपोत कार्यालयमा बिचौलियाहरूले सेवाग्राहीलाई सास्ती दिइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले कार्यालय परिसर भित्रै प्रवेश गरेर सेवाग्राहीलाई अभद्र व्यवहार गरिरहेका २ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

त्यसैगरी, कार्यालय बाहिर विभिन्न बहाना बनाएर सेवाग्राहीलाई आफ्नै लेखापढी व्यवसायमा जान बाध्य पार्ने र हैरानी दिने ३ जनालाई पनि नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएका ती तीन जनालाई भने आगामी दिनमा त्यस्तो कार्य नगर्ने प्रतिबद्धता जनाउन लगाई आफन्तको जिम्मा लगाएर छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

पछिल्लो समय सरकारी कार्यालयहरूमा बिचौलियाको चलखेल बढ्दा सर्वसाधारणले झन्झट व्यहोर्नुपरेको गुनासो आउने गरेको छ। कास्की प्रहरीले सरकारी कार्यालय वरपर हुने यस्ता गतिविधि नियन्त्रण गर्न र सेवाग्राहीलाई सहज वातावरण मिलाउन सक्रियता बढाएको जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: