
पोखरा। पोखराको लेकसाइडस्थित सेदीमा सञ्चालित वाटरफ्रन्ट रिसोर्टका केही संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको घटनाप्रति होटल संघ पोखरा नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
केजीएच ग्रुपद्वारा सञ्चालित उक्त रिसोर्टले फेवातालको जग्गा मिचेको भन्दै महानगरले आइतबार बिहानै डोजर प्रयोग गरी संरचना हटाएको थियो। संघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै महानगरको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “आइतबार बिहानै झिसमिसेमा पर्यटक सुतिरहेको समयमा होटलमा डोजर पुग्दा पर्यटकहरू त्रसित र आतंकित हुने वातावरण सिर्जना भएको छ। विना पूर्वजानकारी यसरी डोजर चलाउँदा पर्यटकहरूको मनमा होटलले ठूलै अपराध गरेको हो कि भन्ने भान पर्न गएको छ।”
संघले यदि महानगरले केही घण्टा अघि मात्रै जानकारी दिएको भए होटलले पाहुना नराख्ने स्पष्ट पार्दै, यस्ता गतिविधिले पोखरा र समग्र नेपालको पर्यटन क्षेत्रमा नै नकारात्मक सन्देश जानेतर्फ सचेत गराएको छ।
होटल संघ पोखराले राज्यलाई जग्गा आवश्यक परेको खण्डमा चलनचल्तीको मुआब्जा प्रदान गरी जग्गा अधिग्रहण गर्ने बाटो हुँदाहुँदै व्यवसायमाथि नै धरपकड गर्ने शैलीमा उत्रनु दुःखद भएको बताएको छ।
“राज्यलाई चाहिने भए मुआब्जा दिएर जग्गा लिन सकिन्थ्यो, तर व्यवसायमाथि नै यसप्रकारको कदम चालिनु उचित छैन,” संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आगामी दिनमा यस्ता कदम चाल्नुअघि पर्यटन क्षेत्रको संवेदनशीलता र यसले अन्तर्राष्ट्रिय स्तरमा पार्ने प्रभावलाई मनन गरिदिन संघले महानगरपालिकासँग अनुरोध गरेको छ।
फेवातालको किनारामा रहेका होटल तथा रिसोर्टहरूले मापदण्ड मिचेको भन्दै पछिल्लो समय पोखरा महानगरपालिकाले अतिक्रमण हटाउने अभियानलाई तीव्र पारेको छ। सोही क्रममा वाटरफ्रन्ट रिसोर्टका केही संरचना भत्काइएको हो।
