नेपाली लेखक संघ कास्कीको अध्यक्षमा कमल पौडेल ‘अथक’ निर्वाचित

Share:

पोखरा । नेपाली लेखक संघ कास्कीको छैटौँ अधिवेशनले कमल पौडेल ‘अथक’ को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। पोखरामा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि लेखकहरूको साझा संस्थाको नेतृत्व चयन गरेको हो।

नवनिर्वाचित समितिको अध्यक्षमा कमल पौडेल ‘अथक’, उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सह-सचिवमा वसन्त चालिसे, कोषाध्यक्षमा गायत्री पराजुली तथा सदस्यमा भेषराज पौडेल चयन भएका छन् ।

समितिका बाँकी सदस्य र सल्लाहकारहरू आगामी कार्यसमिति बैठकबाट चयन गरिने अध्यक्ष अथकले जानकारी दिएका छन्। निर्वाचन सम्पन्न गर्न लक्ष्मी थापाको संयोजकत्वमा हीममाया पौडेल र अमृत क्षेत्री सम्मिलित निर्वाचन समिति गठन गरिएको थियो।

अधिवेशनको उद्घाटन गर्दै संघका सल्लाहकार प्रा.डा. लक्ष्मीशरण अधिकारीले नेपाली लेखक संघ लोकतन्त्रवादी लेखक र साहित्यकारहरूको महत्वपूर्ण थलो भएको बताए। उनले देशको कठिन परिस्थितिमा लेखकहरूको सिर्जनाले समाजलाई दिशाबोध गर्ने र विशेष अर्थ राख्ने धारणा व्यक्त गरे।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका पदाधिकारी तथा सल्लाहकार डा. लक्ष्मीशरण अधिकारीले अबिर, खादा र प्रमाणपत्र प्रदान गरी पदस्थापन गराएका थिए। सोही अवसरमा निवर्तमान समितिले नयाँ समितिलाई माइन्युट हस्तान्तरण गरेको थियो।

निवर्तमान अध्यक्ष रीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष ईश्वरमणि अधिकारी, प्रदेश अध्यक्ष दीपक समीप, नवनिर्वाचित अध्यक्ष कमल पौडेल अथक र सचिव सञ्जय न्यौपाने ‘प्राञ्जल’ लगायतले संघको सुदृढीकरण र आगामी योजनाबारे बोलेका थिए।

कमेन्ट गर्नुहोस्
Share: