कांग्रेस सभापति गगन थापा पोखरा आउँदैः निर्वाचनको ‘निर्मम’ समीक्षा र आगामी दिशा तय गरिने

Share:

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी चैत २७ गते पोखरा आउने भएका छन्। प्रतिनिधि सभा निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि उत्पन्न राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्न उनी पोखरा आउन लागेका हुन्।

चुनावी परिणाम सार्वजनिक भएदेखि राजनीतिक रूपमा मौन रहेका सभापति थापाले पोखरामा आयोजना हुने विशेष कार्यक्रममार्फत आफ्नो धारणा र पार्टीको आगामी कार्यदिशा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

नेपाली कांग्रेस गण्डकी प्रदेशको आयोजना र जिल्ला कार्यसमिति कास्कीको व्यवस्थापनमा हुन लागेको यस कार्यक्रमको मुख्य विषय ‘निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो’ रहेको छ। पार्टीभित्र आन्तरिक कलह, गुटबन्दी र नेतृत्वको आलोचना भइरहेका बेला सभापति थापाको यो भ्रमणलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ। कार्यक्रम आगामी चैत २७ गते शुक्रबार बिहान ११ः०० बजे पोखरा-९, बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा हुनेछ।

गण्डकी प्रदेशका महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठका अनुसार कार्यक्रममा गण्डकी प्रदेशका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, प्रदेश कार्यसमितिका टोली, जिल्ला र निर्वाचन क्षेत्रीय सभापतिहरूको उपस्थिति रहनेछ।

त्यसैगरी, कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्यहरू, प्रदेश सभा क्षेत्रीय सभापतिहरू र प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरूलाई समेत कार्यक्रममा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

पार्टीभित्र निवर्तमान सभापति शेरबहादुर देउवाको विदेश भ्रमण र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काका गतिविधिले अन्योल सिर्जना गरिरहेका बेला सभापति थापाले कार्यकर्ताहरूसँग प्रत्यक्ष संवाद गर्नेछन्।

कमेन्ट गर्नुहोस्
Share: