गण्डकी विश्वविद्यालयको दीक्षान्त: ५०० अतिथिको उपस्थितिमा ४४ विद्यार्थी दीक्षित हुँदै

Share:

पोखरा । गण्डकी प्रदेश सरकारद्वारा स्थापित नेपालकै पहिलो प्रदेशस्तरीय विश्वविद्यालय, गण्डकी विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । चैत २८ गते पोखरा-३२ मालमुलस्थित विश्वविद्यालयकै प्रांगणमा आयोजना हुने समारोहमा विभिन्न संकायका ४४ जना विद्यार्थी दीक्षित हुने भएका हुन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालय प्रशासनले समारोहको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

विश्वविद्यालयले दीक्षान्त समारोहका लागि ‘गण्डकी विश्वविद्यालय दीक्षान्त समारोह सम्बन्धी कार्यविधि २०८२’ र ‘गण्डकी विश्वविद्यालय पदक तथा प्रमाणपत्र सम्बन्धी नियमावली २०८२’ निर्माण गरी सोही बमोजिम कार्यक्रम सञ्चालन गर्न लागेको हो । समारोहमा बी एस एम कार्यक्रमका ११ जना, बी आई टी का १८ जना र बी फार्मका १५ जना विद्यार्थीलाई शैक्षिक उपाधि प्रदान गरिने जानकारी विश्वविद्यालयका उपकुलपति डा कृष्णराज अधिकारीले दिए । उत्कृष्ट शैक्षिक नतिजा ल्याउने विद्यार्थीमध्ये १ जनालाई कुलपति पदक र प्रत्येक कार्यक्रममा उत्कृष्ट हुने १/१ जना गरी ३ जना विद्यार्थीलाई उपकुलपति पदकबाट पुरस्कृत गरिने जानकारी दिइएको छ । हाल यस विश्वविद्यालयमा ६ वटा शैक्षिक कार्यक्रम अन्तर्गत ७५० विद्यार्थी छन् ।

विश्वविद्यालयका कुलपति इन्द्रप्रसाद तिवारीले पत्रकार सम्मेलनमा बोल्दै आगामी शैक्षिक सत्रदेखि थप नयाँ कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको बताए । उनले विश्वविद्यालय सम्बन्धी कानुनले अरु कलेजलाई सम्बन्धन दिने बाटो खुल्ला राखे पनि तत्कालै त्यस्तो सोच नरहेको स्पष्ट पारे । अहिले विश्वविद्यालयले आफ्नै शैक्षिक गुणस्तर सुदृढ बनाउन र सामुदायिक कलेजहरुसँग कसरी मिलेर काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको उनको भनाइ छ ।

तिवारीले नेपालमा उच्च शिक्षामा आबद्ध ६ लाख ५० हजारभन्दा बढी विद्यार्थीको तुलनामा अझै पनि विश्वविद्यालयको संख्या कम रहेको औंल्याए । ‘विश्वका धेरै देशमा १०० देखि २०० विद्यार्थी मात्र भएका विश्वविद्यालय पनि सञ्चालनमा छन्, तसर्थ नेपालमा विश्वविद्यालय धेरै भए भन्ने तर्क सही छैन’, उनले भने । प्रदेशले आफ्नो बौद्धिक अंगका रुपमा विश्वविद्यालयलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले हाल विश्वविद्यालयको ५० प्रतिशत प्रशासनिक खर्च आन्तरिक स्रोतबाटै धानिएको जानकारी दिए ।

विश्वविद्यालयका उपकुलपति कृष्णराज अधिकारीले गण्डकी विश्वविद्यालयले अन्य परम्परागत विश्वविद्यालयको तुलनामा फरक र बजारमा माग भएका विषयहरुमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले नेपालमा अझै पनि फर्मासिस्ट र नर्स जस्ता दक्ष जनशक्तिको ठूलो अभाव रहेको उल्लेख गर्दै विश्वविद्यालयले त्यसतर्फ विशेष ध्यान दिएको बताए । अधिकारीका अनुसार विश्वविद्यालयले निकट भविष्यमै बायोमेडिकल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ जस्ता प्राविधिक विषयहरुको पढाइ सुरु गर्ने तयारी गरेको छ । उनले खनिज इन्जिनियरिङ अध्यापनका लागि काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गर्ने योजना भए पनि इन्जिनियरिङ काउन्सिलको अनुमति नपाउँदा केही कानुनी जटिलता आएको जानकारी दिए ।

पठनपाठनसँगै अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतामा राखेको यस विश्वविद्यालयले हालै २० चैत २०८२ मा ‘गण्डकी रिसर्च प्रोग्राम’ र ‘गण्डकी रिसर्च म्यानेजमेन्ट प्रोग्राम’ को समेत शुभारम्भ गरेको छ । नास्ट जस्ता संस्थाहरुसँग सहकार्य गर्दै शोधार्थीहरुलाई अनुसन्धानवृत्ति प्रदान गर्ने घोषणा समेत गरिएको छ । यस कार्यक्रमलाई प्रदेश सरकारले समेत विशेष सहयोग गरेको विश्वविद्यालयले जनाएको छ ।

दीक्षान्त समारोहलाई मर्यादित बनाउनका लागि ५ वटा विभिन्न उपसमितिहरु गठन गरेर काम गरिएको छ । दीक्षित हुने विद्यार्थीका लागि निश्चित पोशाक निर्धारण गरिएको छ । पुरुषका लागि दौरासुरुवाल वा पाइन्ट-कोट, टोपी र कालो जुत्ता अनिवार्य गरिएको छ भने महिलाका लागि साडी–चोलो, कोट र जुत्ता वा चप्पल तोकिएको छ । विद्यार्थीले विश्वविद्यालयले उपलब्ध गराउने गाउन, स्कार्फ र टोपी अनिवार्य रुपमा लगाउनुपर्नेछ । समारोहको सुरुवातमा ग्रेस हलबाट पञ्चेबाजासहित दीक्षान्त प्रोसेशन सुरु हुने र कार्यक्रम समापनपछि सोही टोली पुनः ग्रेस हलमा प्रवेश गर्ने कार्यतालिका रहेको छ ।

करिब ५०० जना अतिथिको उपस्थिति रहने अपेक्षा गरिएको यस समारोहको सभापतित्व न्यासिक परिषद्का अध्यक्षले गर्नेछन् । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिका रुपमा रहनेछन् भने प्रमुख दीक्षान्त वक्ताका रुपमा शिक्षाविद् केदारभक्त माथेमालाई निमन्त्रणा गरिएको छ । समारोहमा कुलपतिले स्वागत मन्तव्य राख्ने र उपकुलपतिले कार्यक्रम सञ्चालन गर्ने तय भएको छ । विश्वविद्यालयले यस समारोहलाई आफ्नो संस्थागत परिपक्वता र शैक्षिक उत्कृष्टताको प्रतीकका रुपमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: