पोखरा हत्या प्रकरण: रास्वपा वडा सदस्य क्षेत्रीको ज्यान गयो, अनुसन्धान तीव्र

Share:

पोखरा । पोखराको सभागृहचोकमा बुधबार साँझ भएको धारिलो हतियार प्रहारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की वडा सदस्य ४२ वर्षीया सिर्जना पौडेल क्षेत्रीको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटन निवासी क्षेत्रीमाथि अज्ञात दुई युवकले सडकपेटीमा उभिरहेको अवस्थामा पछाडिबाट आक्रमण गरेका थिए।

बुधबार साँझ करिब ७ बजे भएको उक्त आक्रमणपछि गम्भीर घाइते भएकी क्षेत्रीलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनी रास्वपा पोखरा महानगरपालिका वडा नम्बर ५ की वडा सदस्य रहेको सो पार्टीका संयोजक दिनबन्धु गौतमले पुष्टि गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घटनामा संलग्न आक्रमणकारीहरू मोटरसाइकलमा फरार भएका थिए। प्रहरीले अनुसन्धानका क्रममा मृतकका दुई महिला आफन्तलाई नियन्त्रणमा लिएर सोधपुछ गरे तापनि बिहीबार साँझ उनीहरूलाई रिहा गरिएको छ।

कास्की प्रहरी प्रमुख (एसपी) नवीन कार्कीका अनुसार हत्यामा संलग्न वास्तविक आरोपीहरूको खोजी कार्य तीव्र पारिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले यो हत्याको पछाडि गहिरो पारिवारिक विवाद हुनसक्ने देखाएको छ। विशेषगरी अंशबण्डा सम्बन्धी किचलोका कारण यो घटना घटेको हुनसक्ने प्रहरी स्रोतको दाबी छ।

“पारिवारिक समस्या र अंशबण्डाको विषयमा विवाद देखिएको छ, सोही आधारमा हामीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरेका थियौँ,” प्रहरी स्रोतले भन्यो। प्रहरीले अहिले फरार रहेका दुई युवक र घटनाको मुख्य योजनाकारको खोजी गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: