
पोखरा । नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक भएको एक हप्ता नबित्दै इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ ले मोटरस्पोर्ट्समा आफ्नो यात्रा सुरु गरेको छ। पोखरामा शुक्रबारदेखि सुरु भएको ‘मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६’ मा सहभागिता जनाउँदै मोर्बिडेलीले आफ्नो प्रतिस्पर्धात्मक डेब्यु गरेको हो।
देशको चुनौतीपूर्ण अफ-रोड प्रतिस्पर्धामध्येको एक मानिने यस च्याम्पियनसिपमा मोर्बिडेलीको तर्फबाट अनुभवी राइडरहरू सन्तोष श्रेष्ठ र विशाल तामाङले प्रतिस्पर्धा गरिरहेका छन्। उनीहरूले मोर्बिडेलीको शक्तिशाली मोडल ‘टी३५२एक्स’ (T352X) मार्फत कठिन भू-भाग र अवरोधपूर्ण ट्रयाकमा आफ्नो कौशल प्रदर्शन गरिरहेका छन्।
नेपालमा भर्खरै प्रवेश गरेको यस ब्रान्डले यस्ता प्रतिष्ठित प्लेटफर्ममार्फत स्थानीय राइडिङ समुदायसँग जोडिने र आफ्नो अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रदर्शन गर्ने लक्ष्य लिएको छ। कम्पनीका अनुसार यो सहभागिताले टी३५२एक्सको मजबुती, प्रदर्शन क्षमता र एड्भेन्चर राइडिङका लागि उपयुक्त इन्जिनियरिङलाई प्रत्यक्ष रूपमा प्रमाणित गर्नेछ।
मोर्बिडेलीले नेपाली बजारमा विभिन्न भेरियन्टहरू सार्वजनिक गरेको छ, जसको मूल्य टी १००२भीएक्सको ४४ लाख ९९ हजार ९०० रुपैयाँ, टी ५०२एक्सको १३ लाख ४९ हजार रुपैयाँ, टी ३५२एक्सको ९ लाख ९६ हजार ९०० रुपैयाँ, एफ ३५२ को ९ लाख ९६ हजार ९०० रुपैयाँ र सी २५२भीको ९ लाख ६९ हजार ९०० रुपैयाँ छ।
कम्पनीका प्रतिनिधिहरूले यस प्रतियोगितालाई ब्रान्डको शक्ति, सहनशीलता र रेसिङ डीएनए (DNA) प्रदर्शन गर्ने उत्कृष्ट अवसरका रूपमा लिएका छन्। शनिबारसम्म चल्ने यस च्याम्पियनसिपले नेपालमा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा नयाँ अध्यायको सुरुवात गर्ने अपेक्षा गरिएको छ।
