एबीसी राष्ट्रिय एट ए साइड भेट्रान्सको उपाधि बगर भाइखलकलाई, आयोजक एबीसी उपविजेता

Share:

पोखरा। कास्कीको पोखरामा सम्पन्न चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले जितेको छ। पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा आयोजक एबीसी क्लबलाई ४-० को फराकिलो गोल अन्तरले पराजित गर्दै बगर भाइखलक च्याम्पियन बनेको हो।

उपाधिसँगै बगर भाइखलकले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता बनेको आयोजक एबीसीले नगद ७७ हजार ७ सय ७७ रुपैयाँमा चित्त बुझायो।

फाइनल खेलमा बगर भाइखलकका लागि दीपक गर्बुजा पुन, कुमार गुरुङ, ईश्वर गुरुङ र हिमाल थापाले १-१ गोल गरेका थिए। खेलको म्यान अफ दि म्याचु हिमाल थापा घोषित भए। थापाले नै प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट को उपाधिसहित नगद ५ हजार र ट्रफी हात पारे।

शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा एबीसीले बौद्ध भेट्रान्सलाई ३-० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो। उक्त खेलमा अमृत गुरुङले २ र सुमन गुरुङले १ गोल गरेका थिए। दोस्रो सेमिफाइनलमा बगर भाइखलकले जोरपाटी भेट्रान्सलाई १-० ले पराजित गरेको थियो।

प्रतियोगिताका विजेताहरूलाई अमरसिंह ब्वाइज क्लब (एबीसी) का अध्यक्ष राजेश गुरुङ, एन्फाका जोइन्ट सेक्रेटरी महेश गुरुङ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले पुरस्कार वितरण गरेका थिए।

समापन कार्यक्रममा एबीसीका अध्यक्ष राजेश गुरुङले ४५ वर्षमाथिका प्रौढहरूबीच भाइचारा अभिवृद्धि र शारीरिक तन्दुरुस्तीका लागि यो प्रतियोगिता प्रभावकारी रहेको बताए। उनले प्रतियोगितामा देशभरका १२ टोली सहभागी भएकोमा धन्यवाद व्यक्त गर्दै आगामी संस्करणमा अझ भव्य सहभागिताको अपेक्षा राखे।

एबीसीका सचिव विजय घिमिरेले यस किसिमका खेलकुदले पोखरालाई खेल पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। प्रतियोगिताका संयोजक मनकाजी गुरुङले सहयोग पुर्‍याउने सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गरे।

कमेन्ट गर्नुहोस्
Share: