
पोखरा । कास्की प्रहरीले पोखरामा भएको सिर्जना पौडेल केसीको हत्यामा संलग्न दुई जना मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पारिवारिक झैझगडा र अंश विवादका कारण सुनियोजित रूपमा उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी घटनाको विस्तृत विवरण र अभियुक्तहरूको पहिचान सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा सिर्जनाका भाञ्जा नाता पर्ने सन्तोष भन्ने शिशिर केसी र उनका साथी कुशल परियार रहेका छन्।
गत चैत २५ गते साँझ करिब ७:०६ बजे सिर्जनामाथि साङ्घातिक आक्रमण भएको थियो। पोखरा महानगरपालिका वडा नम्बर ८, सभागृह चोकनजिकै आफूले सञ्चालन गर्दै आएको मासु पसल बन्द गरेर पैदल घरतर्फ जाँदै गरेकी उनीमाथि पोखरा-बागलुङ सडकखण्डको शिवालय चोकनजिकै धारिलो हतियार खुकुरी प्रहार भएको थियो।
प्रहरीका अनुसार अभियुक्तहरूले दिउँसैदेखि सिर्जनाको निगरानी गरिरहेका थिए। उनीहरूले आक्रमणका लागि एकान्त र अँध्यारो ठाउँ रोजेर पछाडिबाट खुकुरी प्रहार गरेको अनुसन्धानबाट खुलेको छ।
कास्कीका प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानमा हत्याको मुख्य जड पारिवारिक कलह र अंश मुद्दा देखिएको छ। मृतक सिर्जनाले ९ वर्षअघि कृष्ण क्षेत्रीसँग दोस्रो विवाह गरेकी थिइन्।
कृष्णका जेठी श्रीमतीतर्फका छोराछोरी र सिर्जनाबिच सम्पत्तिको विषयलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको र सोही विवादले उग्र रूप लिँदा हत्या भएको एसपी कार्कीले जानकारी दिए।
पत्रकार सम्मेलनमा एसपी कार्कीले भने, “हामीले म्यानुअल्ली र प्राविधिक रूपमा सूक्ष्म विश्लेषण गरेर अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएका छौँ। यो आवेशमा आएर गरिएको नभई पूर्ण रूपमा योजनाबद्ध हत्या भएको देखिएको छ।”
पक्राउ परेका दुवै अभियुक्तमाथि प्रहरीले थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाएको छ।
