
पोखरा । पोखराको हेमजामा जारी ‘राष्ट्रिय हेमजा आलु महोत्सव’को चौथो दिनसम्म १३ लाख रुपैयाँभन्दा बढीको आलु कारोबार भएको छ। सोमबार मात्रै ५ लाख रुपैयाँ बराबरको आलु बिक्री भएको आयोजकले जनाएका छन्।
पछिल्ला दिनमा मौसम र सार्वजनिक बिदाले साथ दिएपछि दर्शकको उपस्थिति र व्यापारमा उल्लेख्य वृद्धि भएको हो। महोत्सवमा आलुका परिकारको १ स्टल, ३० वटा कृषि स्टल र सयभन्दा बढी व्यापारिक स्टलहरू रहेका छन्। हाल महोत्सवमा प्रतिकेजी ३५ रुपैयाँमा आलु बिक्री भइरहेको छ।
आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीका अनुसार ग्राहकले न्यूनतम १ केजीदेखि अधिकतम ८ सय केजीसम्म आलु खरिद गरेका छन्। “कास्कीका छिमेकी पालिका मात्र नभई चितवन, मकवानपुर, तनहुँ, लमजुङ, स्याङ्जा, बाग्लुङ र मुस्ताङदेखि समेत मानिसहरू आलु किन्न यहाँ आइरहेका छन्,” कार्कीले भने।
हेमजाको ‘निलो आलु’ स्वादिष्ट, छिटो पाक्ने र स्वास्थ्यकर हुने भएकाले उपभोक्ताको रोजाइमा परेको हो। महोत्सव स्थल विष्णुपादुका खेल मैदान मात्र नभई स्थानीयका घर-घरबाट समेत आलु र कृषि उपजको बिक्री बढेको छ।
सांस्कृतिक चहलपहल र कलाकारको प्रस्तुति
महोत्सवमा व्यापारसँगै मनोरञ्जनका कार्यक्रमहरू पनि उत्तिकै प्रभावकारी देखिएका छन्। सोमबार पुरुषोत्तम न्यौपाने, रामजी पौडेल, सरस्वती लामिछाने लगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए भने राजेन्द्र गिरी (गुन्द्रुके) र मनोज गोर्खालीले हास्य प्रस्तुतिबाट दर्शकलाई हँसाएका थिए। साँझ पप कन्सर्टतर्फ देउराली र लेकाली व्याण्डका साथै अंकित श्रेष्ठले दर्शकलाई नचाएका थिए।
महोत्सवमा रत्यौली प्रतियोगिता, कृषि झाँकी, आलुको पहाड निर्माण र कृषि यन्त्रहरूको प्रदर्शनी समेत भइरहेको छ।विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठका अनुसार सोमबारसम्म ४० हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरिसकेका छन्। भोलि नयाँ वर्षको दिन शिव हमाल, राजु ढकाल लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहने सांस्कृतिक उपसमितिले जनाएको छ।
