पोखरामा ब्राउनसुगरसहित तीनजना पक्राउ, सात दिनको म्याद थपेर अनुसन्धान सुरु

Share:

पोखरा । कास्की प्रहरीले पोखराका छुट्टाछुट्टै स्थानबाट लागू औषध ब्राउनसुगरसहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको टोलीले शनिबार दुई फरक स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका वडा नं. ९ स्थित पृथ्वीचोक बसपार्कबाट दुईजना पक्राउ परेका हुन् । लागू औषधको बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले तनहुँको व्यास नगरपालिका वडा नं. ६ स्थायी घर भई हाल पोखरा ९ बस्ने ३० वर्षीय विपिन अधिकारी र बाराको जितपुर सिमरा नगरपालिका वडा नं. २ बस्ने ३६ वर्षीय सत्रुधन ढकाललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २२२ मिलिग्राम ब्राउनसुगर र २ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै शनिबार साँझ पोखरा महानगरपालिका वडा नं. १४ चाउथेबाट थप १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्युठानको झिमरुक गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल पोखरा १४ चाउथे बस्ने ३३ वर्षीय सन्तोष जिसी रहेका छन् । उनको साथबाट प्रहरीले २ ग्राम ५२ मिलिग्राम ब्राउनसुगर र १ थान मोबाइल बरामद गरेको छ ।

प्रहरीले बरामद गरेको खैरो पदार्थ तत्काल तौल गर्दा २ ग्राम ५२ मिलिग्राम पुगेको र अनुसन्धानका लागि निजलाई हिरासतमा लिइएको जानकारी दिएको छ । पक्राउ परेका उनीहरुलार्य कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: