
पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकलाई दुःख हैरानी दिने कार्यमा संलग्न थप तीन जना महिलाहरूलाई पक्राउ गरेको छ।
लामो समयदेखि लेकसाइड क्षेत्रमा रातिको समयमा महिलाहरूले पर्यटकहरूलाई अनावश्यक दुःख दिने, प्रलोभनमा पारी लुटपाट गर्ने तथा अनैतिक क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुर्याएको भन्ने व्यापक जनगुनासो आएपछि प्रहरीले सक्रियता बढाएको हो।
यसै क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले (आज) मंगलबार बिहान करिब २:३० बजे पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइड क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका महिलाहरूले पर्यटकहरूलाई विभिन्न प्रलोभन देखाउने र अनावश्यक हैरानी दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीले उनीहरूमाथि आवश्यक कानुनी कारबाही अगाडि बढाइएको जानकारी दिएको छ।
पर्यटकीय राजधानी पोखराको साख जोगाउन र पर्यटकको सुरक्षा सुनिश्चित गर्न प्रहरीले यस्ता अवाञ्छित गतिविधि विरुद्धको अपरेसनलाई निरन्तरता दिने बताएको छ।
