
पोखरा । पोखरा महानगरपालिका नगर युवा परिषद्को आयोजनामा नमुना नगर सभा सम्पन्न भएको छ । बुधबार स्थानीय सरकारको काम, कर्तव्य र अधिकारका विषयमा सुसूचित गर्ने उद्देश्यले नगर युवा परिषद्को आयोजनामा नमुना नगर सभा सम्पन्न गरिएको हो । ‘समृद्ध नेपालका लागि कर्मनिष्ठ युवा र उद्यमी युवा’ भन्ने नारासहित वैशाख ७ र ८ गते बेगनासस्थित हिमालयन फरेस्ट रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा युवाहरूले प्रत्यक्ष रूपमा लोकतान्त्रिक अभ्यास गर्ने अवसर पाएका छन्।
कार्यक्रम अन्तर्गत नमुना नगर सभा गठन, निर्वाचन प्रक्रिया, नीति तथा कार्यक्रम प्रस्तुति र बजेट पारितजस्ता अभ्यास गराइएको थियो। नमुना लोकसेवा परीक्षाबाट प्रमुख प्रशासकीय अधिकृत छनोट गरिएको थियो भने निर्वाचन प्रक्रियाबाट नगर प्रमुख, उपप्रमुख चयन गरिएको थियो। प्रमुख प्रशासकीय अधिकृतमा समीप तिवारी, नगर प्रमुखमा विज्ञानराज शर्मा र उपप्रमुखमा बिन्दु बास्तोला निर्वाचित भए।
दोस्रो दिन सञ्चालन गरिएको नमुना नगर सभामा वार्षिक योजना तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। उपप्रमुख बास्तोलाले नमुना राजस्व तथा व्ययको वार्षिक अनुमानित बजेट प्रस्तुत गरिन्। त्यसपछि सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ नगर प्रमुख शर्माले दिए। छलफलपछि वार्षिक नीति, कार्यक्रम र बजेट पारित गरी सभा स्थगित गरिएको थियो।
कार्यक्रममा सहभागी युवाहरूले यस्तो अभ्यासले नीति निर्माण प्रक्रिया, तर्क प्रस्तुत गर्ने क्षमता र विकासका योजना बनाउने सीप सिकाएको अनुभव सुनाएका छन्। उनीहरूले लोकतान्त्रिक संसदीय अभ्यासले सबैलाई ऊर्जावान बनाउनुका साथै गहिरो अध्ययन र विषयगत बहस गर्न सक्षम बनाएको बताएका छन्। ‘यस्ता कार्यक्रम देशभर हुन आवश्यक छ’ भन्ने धारणा सहभागीहरूले व्यक्त गरेका छन्।
कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष ढकनाथ कँडेलले युवाहरू सक्रिय र उद्यमी बन्नका लागि सैद्धान्तिक शिक्षासँगै प्रयोगात्मक अभ्यास आवश्यक रहेको बताए। उनले ‘लोकतान्त्रिक नमुना अभ्यासले देश विकासमा टेवा पुग्छ’ भने। वडा नम्बर २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले पनि यस्ता कार्यक्रमले युवा जनशक्तिलाई अझ सशक्त बनाउने र लोकतन्त्रको रक्षा गर्न सहयोग गर्ने धारणा राखे।
प्रशिक्षकको भूमिकामा विवेक त्रिपाठी र मानव राज बराल थिए। कार्यक्रमको उद्घाटन नगर युवा परिषदका अध्यक्ष सन्तोष नौपानेले गरेका थिए भने नमुना नगर सभा विज्ञान राज शर्माको अध्यक्षतामा सञ्चालन गरिएको थियो। समापनका क्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नमुना अभ्यासको प्रशंसा गर्दै युवाका लागि आवश्यक सीपमूलक तालिम र रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमको अन्त्यमा नगर युवा परिषदका अध्यक्ष नौपानेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै समापनको घोषणा गरेका थिए। नमुना नगर सभामा विभिन्न वडाका विभिन्न विषय र क्षेत्रसँग सम्बन्धित सक्रिय ६० जना युवाको सहभागिता रहेको थियो ।
