
काठमाडौं । कास्की प्रहरीले जिल्लामा बढ्दै गएको लागूऔषध कारोबार, सेवन, गुण्डागर्दी तथा सामाजिक अशान्ति नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरेको १० घण्टे स्वीप अप्रेसनमा १२२ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बुधबार (हिजो) साँझ करिब ९ बजेदेखि १० गते बिहान ६ बजेसम्म पोखरा महानगरपालिकाका विभिन्न वडा तथा आसपासका क्षेत्रमा एकैसाथ अप्रेसन सञ्चालन गरिएको थियो। यस क्रममा लागूऔषध बिक्री–वितरण तथा सेवन गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, टोले गुण्डागर्दीमा संलग्न तथा शंकास्पद रूपमा हिँडडुल गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पोखरा महानगरपालिकाका वडा नम्बर १ देखि ५ सम्मका विभिन्न स्थानबाट ९ जना, वडा ६ को लेकसाइड र ड्यामसाइड क्षेत्रबाट ३५ जना, वडा ८ बाट ६ जना, वडा ९ र १० बाट २० जना, वडा ११, १२ र १३ बाट ८ जना तथा वडा १४ र १५ बाट १५ जना पक्राउ परेका छन्। त्यसैगरी वडा १६ बाट २ जना, वडा १८ बाट २ जना, वडा २७ र २८ बाट ६ जना, वडा २९ र ३० बाट १२ जना, वडा ३२ बाट ३ जना, माछापुच्छ्रे गाउँपालिकाबाट ३ जना र अन्नपूर्ण गाउँपालिकाबाट १ जना गरी कुल १२२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
स्वीप अप्रेसनमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट करिब १०० जना प्रहरी परिचालन गरिएको थियो। नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
कास्की प्रहरीले यस्ता अप्रेसनहरू निरन्तर सञ्चालन गर्ने बताउँदै लागूऔषध, गुण्डागर्दी, सार्वजनिक अशान्ति तथा ध्वनि प्रदूषणजस्ता उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही जारी रहने चेतावनी दिएको छ।
