
पोखरा । पोखरा महानगरपालिका वडा नं. ३० अन्तर्गत शिशुवादेखि शिसाघाटसम्म जोड्ने शिशुवा–खुदीखोला सडक खण्डको उद्घाटन गरिएको छ। नेपाल सरकार शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत निर्माण सम्पन्न उक्त सडकको उद्घाटन पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले गरे।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले पोखरा विकास साझेदारहरूको प्राथमिकतामा परेको शहर बनेको बताए। उनले हाल पोखरामा ३३ अर्ब रुपैयाँभन्दा बढीका विकास परियोजनाहरू सञ्चालनमा रहेको जानकारी दिँदै विश्व बैंककै सहयोगमा यस सडकको दोस्रो चरण निर्माण कार्य समेत अगाडि बढ्ने अपेक्षा व्यक्त गरे। साथै तालचोक-बेगनास सडक निर्माणमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै तोकिएको समयभित्र काम सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गरे।
कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पोखरा महानगरपालिकाको दिगो विकासतर्फको प्रयास प्रशंसनीय रहेको बताउँदै सहकार्य गर्न तयार रहेको उल्लेख गरे। प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्यालले नागरिकको अपेक्षाअनुसार सेवा पहुँच विस्तारमा महानगर प्रतिबद्ध रहेको बताए।
यसैगरी, विभिन्न वक्ताहरूले सडक निर्माणले स्थानीय बासिन्दालाई सहजता थप्ने विश्वास व्यक्त गरेका थिए। वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विकासमा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे।
आयोजनाका फोकल पर्सन इन्जिनियर नवीन गौतमका अनुसार शिशुवादेखि खुदीखोला पुलसम्म करिब ४.१४ किलोमिटर सडक निर्माण भएको हो।
विश्व बैंकको ३४ करोड ११ लाख २० हजार २९५ रुपैयाँको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त सडकमा १५ मिटर डबल लेन, ७ मिटर सर्भिस लेन, १.५ मिटर साइकल ट्र्याक तथा २.५ मिटर फुटपाथ निर्माण गरिएको छ।
