
पोखरा । कास्कीमा लागू औषध कारोबारमा संलग्न एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले प्राप्त गोप्य सूचनाका आधारमा पोखरा महानगरपालिका वडा नं.५ धारापानी क्षेत्रमा अनुसन्धान गर्दा शुक्रबार साँझ करिब सवा ७ बजे पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बाग्लुङ नगरपालिका वडा नं.६ स्थायी घर भई हाल पोखरा-५ धारापानी बस्दै आएका २५ वर्षीय विपिन नेपालीको कोठामा खानतलासी गर्दा ठूलो परिमाणमा लागू औषध बरामद गरिएको हो। तलासीका क्रममा डाईजेपाम, फेनारगन र ब्रुफिनुर्फिन गरी प्रत्येक ११७/११७ एम्पुलका दरले जम्मा ३५१ एम्पुल लागू औषध र एक थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागू औषधसहित पक्राउ परेका नेपालीमाथि लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ। उनलाई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
