सिरानचोकका जनप्रतिनिधि र कर्मचारीका लागि पोखरामा क्षमता विकास तालिम सम्पन्न

Share:

पोखरा । गोरखाको सिरानचोक गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीका लागि क्षमता विकास कार्यक्रम पोखराको लेकसाइडमा सम्पन्न भएको छ। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहजीकरणमा वैशाख १८ गते आयोजित उक्त कार्यक्रम गाउँपालिकाले सेवा प्रवाहलाई छिटो, छरितो र व्यवस्थित बनाउने तथा स्थानीय तहका योजनालाई वडास्तरबाट पहिचान गरी प्रभावकारी रूपमा तर्जुमा गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

कार्यक्रममा नेतृत्व विकास, कार्यालय व्यवस्थापन, विकास योजना, स्थानीय तहको योजना तर्जुमा तथा सभा सञ्चालन लगायत विषयमा प्रशिक्षण दिइएको थियो। मुख्य प्रशिक्षकका रूपमा प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिना र प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले सहजीकरण गरेका थिए।

तालिमका क्रममा नमुना योजना निर्माण र गाउँसभा सञ्चालनको अभ्याससमेत गराइएको थियो। सहभागीहरूले अभ्यासमूलक तालिमबाट टोल तथा बस्तीस्तरबाट योजना छनोट र प्राथमिकता निर्धारण गर्ने प्रक्रिया अझ प्रभावकारी रूपमा सिक्न पाएको बताएका छन्। यसले योजनालाई वैज्ञानिक, यथार्थपरक बनाउन र जनताका विकाससम्बन्धी गुनासाहरू सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा सिरानचोक गाउँपालिकाका ८ वटै वडाका वडाध्यक्ष, २० जना वडा सदस्य र १२ जना विभिन्न शाखाका प्रमुखसहित कुल ४० जनाको सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: