आगलागीपछि फेरि उठ्यो पोखराको भाटभटेनी, उपभोक्तालाई पुनः सहज सेवा

Share:

पोखरा। भाटभटेनी सुपर स्टोर लामो समयको बन्दपछि पुनः सञ्चालनमा आएको छ। सोमबारदेखि स्टोर खुलेसँगै पोखरेली उपभोक्ताहरूले फेरि नियमित रूपमा सेवा लिन थालेका छन्। भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाटपछि पूर्ण रूपमा क्षतिग्रस्त बनेको यो सुपरमार्केट पुनः मर्मत गरेर सञ्चालनमा ल्याइएको हो।

खरानीमा परिणत भएको संरचनालाई पुनर्निर्माण गर्दै सञ्चालक मीनबहादुर गुरुङ ले स्टोरलाई फेरि ग्राहकका लागि खुला गरेका हुन्। यद्यपि, केही भौतिक पूर्वाधारका काम अझै जारी रहेको जनाइएको छ।

सञ्चालक गुरुङका अनुसार अब स्टोर दैनिक बिहान १० बजेदेखि खुला रहनेछ। प्रमुख सञ्चालन अधिकृत पानू पौडेल ले लामो अन्तरालपछि सेवा पुनः सुरु गर्न पाउँदा उत्साह व्यक्त गरिन्। स्टोरको भित्तामा लेखिएको भावनात्मक सन्देश-“हे भगवान, अबउप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस्” ले विगतको पीडा र भविष्यप्रतिको आशा दुवै झल्काउँछ।

उनका अनुसार आगामी दिनमा ग्राहकलाई अझ सुरक्षित, सहज र गुणस्तरीय किनमेल अनुभव प्रदान गरिनेछ। आधुनिक पूर्वाधार, व्यवस्थित सपिङ वातावरण र विविध सामग्रीमार्फत ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरिएको छ।

पोखरामा भाटभटेनीको पुनः सञ्चालनलाई स्थानीय बजारका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ। खाद्यान्नदेखि लत्ताकपडा, इलेक्ट्रोनिक्ससम्मका सामग्री एकै ठाउँमा उपलब्ध गराउने यस स्टोरले बजारमा पुनः चहलपहल बढाउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: