पोखरामा कृषकलाई अनुदानमा कृषि सामग्री वितरण, कृषि आधुनिकीकरणमा महानगरको जोड

Share:

पोखरा । कृषकहरूको उत्पादन वृद्धि तथा कृषि आधुनिकीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरा महानगरपालिका ले वडा नं. १८ का कृषकहरूलाई विभिन्न कृषि सामग्री तथा उपकरण अनुदानमा वितरण गरेको छ । आर्थिक विकास महाशाखाअन्तर्गत कृषि विकास शाखाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार भावना सामुदायिक कृषि सहकारी संस्था र वडास्तरीय कृषि सञ्जाल-१८ को साझेदारीमा २२ जना कृषकलाई कृषि उत्पादन सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा पाँच वटा मिनि टिलर, एक वटा कम्बाइन मिल, एक वटा पल्पिङ मेसिन, १० वटा टनेल प्लास्टिक, दुई वटा स्प्रेयर तथा तीन रोल मल्चिङ प्लास्टिक वितरण गरिएको थियो । सामग्रीहरू वडा नं. १८ का वडा अध्यक्ष शिवप्रसाद तिमल्सिना र आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरिया ले संयुक्त रूपमा कृषकलाई हस्तान्तरण गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष तिमल्सिनाले प्राप्त सामग्रीहरूको अधिकतम उपयोग गर्दै कृषि उत्पादन बढाउन कृषकहरूलाई आग्रह गरे । यस्तै, महाशाखा प्रमुख कडरियाले सीमित साधनस्रोतका बाबजुद महानगरपालिकाले कृषकलाई निरन्तर सहयोग गरिरहेको उल्लेख गर्दै अनुदानको प्रभावकारी उपयोगमार्फत उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।

वडास्तरीय कृषि सञ्जाल-१८ का अध्यक्ष बेलबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका सचिव सुनिलकुमार थापाले सञ्चालन गरेका थिए । कार्यक्रममा कृषि सञ्जालका सचिव खेमराज तिमिल्सिना, सहकारीका निवर्तमान अध्यक्ष बलराम कोइराला तथा अध्यक्ष मीनबहादुर थापालगायतले कृषिमा सहकार्य र आधुनिक प्रविधिको आवश्यकता औँल्याएका थिए।

यसअघि पनि वडा नं. १८, वडास्तरीय कृषि सञ्जाल-१८ र भावना सामुदायिक कृषि सहकारी संस्थाको लागत साझेदारीमा १५६ जना कृषकलाई विभिन्न कृषि सामग्री वितरण गरिसकिएको जनाइएको छ । उक्त कार्यक्रमअन्तर्गत ११ वटा मिनि टिलर, तीन वटा कम्बाइन मिल, १७ वटा टनेल प्लास्टिक, १३ वटा डिजिटल तराजु, १० वटा स्प्रेयर, असिना छेक्ने जाली, मल्चिङ प्लास्टिक, गार्डेन पाइप, क्रेट, फोरुवा, कुटो, बाउसो तथा सिकेचरसहितका सामग्री वितरण गरिएको थियो ।

महानगरपालिकाले कृषिमा आधुनिकीकरण र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिँदै कृषकलाई प्रत्यक्ष राहत तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: