
रञ्जन अधिकारी पोखरा, १८ मंसीर / नेपालमा अपांगमैत्री शिक्षा व्यवस्था नभएकोले यसतर्फ जोड दिँदै उनीहरुलाई सहज जीवनयापनका लागि राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याईएको छ । डिसेम्बर ३ अर्थात् अन्तर्राष्ट्रिय अपांग दिवसको सन्दर्भमा अमरसिंह नमुना उच्च मावि, दृष्टिविहीन शाखाका विद्यार्थीहरुले शुक्रबार आयोजना गरेको अपांगता भएका बालबालिकाहरुको संरक्षण विकासका निम्ति अन्र्तक्रिया कार्यक्रममा दृष्टिविहीन विद्यार्थीहरुले राज्यले अपांगता भएका विद्यार्थीहरुको शिक्षा र जीवन निर्वाहका लागि आवश्यक पुर्वाधारमा समेत ख्याल नगरेको गुनासो गरे ।
नेपालमा पनि बुधबार ‘अर्थपूर्ण समावेशीकरण, सबै क्षमता भएका व्यक्तिहरुका पहुँच र सशक्तिकरण’ नाराका साथ २४ औं अपांगता दिवस मनाईयो । यसै दिवसको अवसरमा विद्यार्थीकै सक्रियतामा आयोजित अन्तक्र्रियाा विद्यार्थीहरुले आफ्नो पीडा र समस्याबारे कास्की स्थित सरोकारवाला पक्षलाई जानकारी गराएका हुन् । उनीहरुले दृष्टिविहनहरुको शैक्षिक सामाग्री उपलब्धता देखि लिएर दृष्टिविहीन मैत्री पाठ्यक्रम नभएको बताए। ‘चित्रात्मक प्रश्नहरु विज्ञान, गणित तथा सामाजिक विषयहरुमा आउँछ, हामी देख्न सक्दैनौं तर पनि एसएलसी दिनैपर्छ ।’ विद्यार्थीहरुको सामुहिक भनाई थियो ‘पाठ्यपुस्तक र परीक्षा पनि दृष्टिविहीन मैत्री हुनुप¥यो । नत्र हामी उसै त कठिन परिस्थितिका छौं, झनै कठिन अवस्था सिर्जना गर्नुहुँदैन ।’
उनीहरुले यातायात क्षेत्रमा पनि उस्तै समस्या बेहोर्नुपरेको बताए । राज्यले ४५ प्रतिशत सहुलियत दिने भनेपनि यातायात व्यवसायीले नदिने, गाडी नरोक्ने, बाटो काट्दा समेत ब्रेक नलगाउने, अपांग सिट आरक्षण भएपनि सबलाङ्गहरुले सिट नछाडिदिने गुनासो गरेका थिए । सामाजिक सुरक्षा, रोजगारीको ग्यारेन्टीका लागि पनि राज्यले अपांगहरुका लागि विशेष योजना ल्याउन उनीहरुको माग छ ।
विद्यार्थीहरुको जिज्ञासाको जवाफ दिँदै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ, पश्चिमाञ्चल संयोजक धर्म अधिकारीले अपांग आरक्षण सिट नपाएमा वा छुट दिन ईन्कार गरे प्रहरीलाई खबर गर्न सुझाव दिए । विद्यालय निरीक्षक खेमराज पौडेलले अपांगमैत्री शिक्षा र पाठ्यक्रम नभएको स्वीकार्दै आवश्यक पुर्वाधारमा पनि विद्यालयले अझै जोड दिन आवश्यक रहेको बताए । यस्तै नेपाल नेत्रहीन संघका सचिव शिशिर खनाल, बाल कल्याण अधिकृत बद्रीप्रसाद वाग्ले लगायतले पनि बोलेका थिए । सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रतिनिधि समेत उपस्थित थिए ।
विद्यालयका प्रधानाध्यापक केशव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक एवं श्रोतव्यक्ति छवि गौडेलले वर्तमान सन्दर्भमा अपांग्ता भएका बालबालिकाहरुको सामाजिक समावेशीकरण शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए अपांगता भएका व्यक्तिहरुको शिक्षा सम्बन्धी विश्वव्यापी मार्गदर्शक प्रावधानका साथै समग्रमा समावेशीकरणका मुलभुत सिद्धान्तहरु, समतामुलक पहुँच, पूर्ण सहभागिता, विविधताको स्वीकृति र सम्मानका बारेमा उनले जानकारी गराए । पछिल्लो जनगणना २०६८ अनुसार नेपालमा पाँच लाख १३ हजार ३२१ जना अपांगता भएका व्यक्ति छन् । त्यसमध्ये करीब ९५ हजार दृष्टि सम्बन्धी अपांग छन् ।
कार्यक्रममा छात्रावास प्रमुख एवं शिक्षक नरेश नेपालले स्वागत र विद्यार्थी सौगात वाग्लले कार्यक्रमको सञ्चालन गरेका थिए ।
