
पोखरा । नेपाली लेखक संघ कास्कीले पोखरामा आयोजना गरेको ‘फणीश्वरनाथ रेणु र सात सालको कथा’ परिचर्चा तथा सिर्जना उत्सवले साहित्य, इतिहास र राष्ट्रिय चेतनालाई एकै मञ्चमा उभ्याएको छ ।
कार्यक्रममा भारतीय साहित्यकार फणीश्वरनाथ रेणुद्वारा लिखित तथा तुलसी भट्टराईद्वारा अनूदित पुस्तक ‘सात सालको कथा’ माथि गहन परिचर्चा गरिएको थियो । परिचर्चाकार प्राडा कुशुमाकर न्यौपानेले पुस्तकले नेपालको २००७ सालको प्रजातान्त्रिक आन्दोलनलाई अत्यन्त जीवन्त र यथार्थपरक ढंगले चित्रण गरेको बताए।
उनले विपी कोइरालासँग किशोर अवस्थादेखि नै निकट सम्बन्ध रहेका लेखक रेणुले विराटनगर, झापा, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, भोजपुर, इलाम, धरान र धनकुटालगायत क्षेत्रमा भएका आन्दोलनका घटनाक्रमलाई रिपोर्ताज शैलीमा प्रस्तुत गरेको जानकारी दिए ।
कार्यक्रमका सभापति तथा नेपाली लेखक संघ कास्कीका अध्यक्ष कमल पौडेल ‘अथक’ले साहित्यका विविध आयामलाई उजागर गर्ने र सिर्जनात्मक गतिविधिलाई निरन्तरता दिने संघको प्राथमिकता रहेको बताए ।
संघका सचिव रोशन तिमल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा ‘गुरुङ’ चलचित्रका महानायकका रूपमा परिचित ताराबहादुर गुरुबले राष्ट्रिय भावनाले ओतप्रोत विशेष प्रस्तुति दिएका थिए ।
सिर्जना उत्सवअन्तर्गत संघका उपाध्यक्ष चन्द्रवती वाग्ले, लक्ष्मण थापा, वसन्त चालिसे, प्राडा चन्द्रबहादुर गुरुङ, धर्मराज अल्पायु, लक्ष्मी थापा, मुक्तिप्रसाद रेग्मी, ढुण्डीराज ज्ञवाली र शंकर ज्ञवालीलगायतले आफ्ना सिर्जना वाचन गरेका थिए ।
साहित्य, इतिहास र सिर्जनात्मक अभिव्यक्तिको संगम बनेको उक्त कार्यक्रमले २००७ सालको आन्दोलनलाई नयाँ पुस्तासामु पुनः स्मरण गराउँदै साहित्यिक चेतनालाई थप उर्जा दिएको सहभागीहरूले बताएका छन् ।
