
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा पत्रकारितामा मल्टिमिडिया तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगसम्बन्धी तीनदिने तालिम आइतबारदेखि पोखरामा सुरु भएको छ। वैशाख २९ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पत्रकारितालाई समाज रूपान्तरणको प्रमुख आधारका रूपमा व्याख्या गरे।
कलमको शक्तिले समाजलाई सही दिशा दिने तथा सरकार र विभिन्न संस्थाका कमजोरी औँल्याएर सुधारको बाटो देखाउने काम पत्रकारिताले गर्ने उनले बताए। अर्यालले प्रविधिको तीव्र विकाससँगै एआईको प्रयोग बढिरहेको उल्लेख गर्दै पत्रकारितालाई अझ प्रभावकारी बनाउन नयाँ प्रविधिसँग अभ्यस्त हुन आवश्यक रहेको धारणा राखे। उनले तालिमले पत्रकारहरूलाई मल्टिमिडिया प्रयोग, डिजिटल प्लेटफर्मको प्रभावकारी उपयोग तथा बदलिँदो समयअनुसार आवश्यक सीप विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले पछिल्लो समय पत्रकारितामा प्रविधिको प्रभाव उल्लेखनीय रूपमा बढेको बताए। उनले मोबाइल पत्रकारिताको महत्व बढ्दै गएको उल्लेख गर्दै प्रविधिले समाचार संकलन र सम्प्रेषणलाई सहज र छिटो बनाएको धारणा राखे। पत्रकारितालाई थप व्यवस्थित बनाउन महासंघले ‘समय आन्दोलन’ अभियान सञ्चालन गरिरहेको जानकारी पनि उनले दिए।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालका अनुसार तालिममा डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग, मल्टिमिडिया सामग्री निर्माण तथा एआई प्रविधिको प्रयोगसम्बन्धी विषयमा प्रशिक्षण दिइनेछ। महासंघ कास्कीका सचिव भूपाल गुरुङले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा उपाध्यक्ष माधव रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालन भएको तालिममा नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जाल (निमजिन) प्राविधिक सहयोगीका रूपमा रहेको छ। तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ जना पत्रकार सहभागी छन्।
