
पोखरा। नेपाली लेखक संघ कास्कीको आयोजनामा लेखक फणीश्वरनाथ रेणुको चर्चित कृति ‘सात सालको कथा’ माथि परिचर्चा तथा सिर्जना उत्सव कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ।
कार्यक्रममा परिचर्चाकार प्रा. डा. कुसुमाकर न्यौपानेले भारतमा जन्मिएका लेखक फणीश्वरनाथ रेणुले नेपालको सात सालको क्रान्तिलाई साहित्यमार्फत जीवित राखेको बताए। उनले उक्त कृतिमा सात सालको क्रान्ति मात्रै नभई राणा शासन, बीपी कोइराला तथा प्रजातान्त्रिक आन्दोलनको इतिहाससमेत सशक्त रूपमा प्रस्तुत गरिएको धारणा राखे।
न्यौपानेले हिन्दी भाषामा लेखिएको कृतिलाई तुलसी भट्टराईले नेपालीमा अनुवाद गरेपछि यसको महत्व अझ बढेको उल्लेख गरे। कृति पढ्दा कतै खुशी र कतै भावुक बनाउने घटनाहरू समेटिएको उनले बताए।
कार्यक्रममा नेपाली लेखक संघ कास्कीका अध्यक्ष कमल पौडेल ‘अथक’ले ‘सात सालको कथा’ लाई साहित्य, पत्रकारिता र प्रजातान्त्रिक आन्दोलनको त्रिवेणीयुक्त अमर दस्तावेजको संज्ञा दिए। उनले लामो समयदेखि उक्त कृतिमाथि परिचर्चा गर्ने इच्छा अहिले पूरा भएको बताए।
उनले वर्तमान समाज अवसरवादी सोचतर्फ उन्मुख भइरहेका बेला सच्चा क्रान्तिका कथाले गलत प्रवृत्ति र पात्रलाई परास्त गर्ने विश्वास व्यक्त गरे। संस्थालाई भर्याङ बनाएर व्यक्तिगत लाभ खोज्ने प्रवृत्तिले साहित्य क्षेत्रमा विकृति ल्याएको टिप्पणी गर्दै गौरवशाली इतिहास बोकेको कृतिमाथि चर्चा गर्न पाउँदा खुशी लागेको बताए।
कार्यक्रममा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङले राष्ट्रभावयुक्त अभिनयमूलक प्रस्तुति दिएका थिए। कृति परिचर्चासँगै गीत, संगीत, नृत्य, अभिनय तथा रचना वाचनसहित सिर्जना उत्सव सम्पन्न भएको आयोजकले जनाएको छ।
कमल पौडेल ‘अथक’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा शंकर ज्ञवाली, धर्मराज अल्पायु, गायत्री पराजुली, ढुण्डीराज ज्ञवाली, बसन्त चालिसे, लक्ष्मण थापा, मुक्तिप्रसाद रेग्मी, लक्ष्मी थापा, डा. चन्द्रबहादुर गुरुङ, चन्द्रावती वाग्ले र रोशन तिमिल्सिनालगायतले गीत, गजल, मुक्तक तथा कविता वाचन गरेका थिए।
