
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने समय नजिकिँदै जाँदा अर्थ मन्त्रालयमा कार्यव्यस्तता चरम चुलिएको छ। बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको यो पहिलो बजेट भएकाले पनि यसलाई विशेष चासोका साथ हेरिएको छ।
एकातिर मुलुकको आर्थिक संकुचन र अर्कोतिर सीमित स्रोतसाधनका बीच जनतामा आशा जगाउने र अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पूर्ण रूपमा केन्द्रित भएका छन्।
बजेटलाई उत्कृष्ट र त्रुटिरहित बनाउन अर्थमन्त्री वाग्ले आफैँ फ्रन्टलाइनमा खटिएका छन्। मन्त्रालय स्रोतका अनुसार उनी दैनिक करिब १६ घण्टासम्म मन्त्रालयमै बिताएर बजेट निर्माण र लेखन कार्यमा निरन्तर लागिपरेका छन्। बिहान ७/८ बजे नै मन्त्रालय छिर्ने मन्त्री वाग्ले राति ११-१२ बजेसम्म बजेटकै काममा व्यस्त रहने गरेका छन्।
अर्थमन्त्रीको यो कडा दैनिकीसँगै बजेट लेखन टोलीका कर्मचारीहरू पनि मन्त्रालयमै खानपानको व्यवस्था गरेर अहोरात्र खटिएका छन्। यस पटकको बजेट निर्माणमा अर्थमन्त्री वाग्लेले नीतिगत मार्गदर्शन मात्र नभई प्राविधिक र भाषाई शुद्धतामा समेत कडा मिहिनेत गरिरहेका छन्।
बजेट लेखन टोलीले तयार पारेका मस्यौदा, बुँदा र विभिन्न प्रस्तावहरूलाई अर्थमन्त्री आफैँले केरमेट गरी परिमार्जन गर्ने गरेका छन्। “मन्त्रीज्यूले बजेटको वाक्य गठन, प्रस्तुति र नेपाली भाषाको ह्रस्व-दीर्घ (व्याकरण) समेत आफैँले सुक्ष्म रूपमा हेरेर सच्याइरहनुभएको छ।
बजेट वक्तव्यको हरेक शब्द र वाक्य स्पष्ट र अर्थपूर्ण होस् भन्नेमा उहाँ निकै गम्भीर देखिनुहुन्छ,” मन्त्रालयका एक अधिकारीले बताए। वर्तमान सरकारको पहिलो बजेट भएकाले यसमा नागरिक र निजी क्षेत्रको ठूलो अपेक्षा छ। तर, राजस्व संकलनको अवस्था, वैदेशिक सहायताको सीमा र आन्तरिक ऋणको दबाबका कारण स्रोत जुटाउन निकै सकस छ।
यस्तो जटिल परिस्थितिमा पनि पपुलिष्ट (लोकप्रियतावादी) भन्दा पनि वस्तुपरक, उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने खालको ‘आशा लाग्दो’ बजेट ल्याउने रणनीतिमा अर्थमन्त्री वाग्ले र उनको टोली जुटेको छ। बजेट लेखन अन्तिम चरणमा पुगिसकेकाले मन्त्रालयमा सर्वसाधारण र सरोकारवालाहरूको भेटघाटलाई भने अहिले पूर्ण रूपमा बन्द गरिएको छ।
