शिशुवा नागरिक समाजमा पुरुषोत्तम महात्म्य कथा वाचन

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३० शिशुवाचोकस्थित शिशुवा नागरिक समाजको आयोजनामा संगीतमय पुरुषोत्तम महात्म्य कथा वाचन कार्यक्रम सुरु भएको छ । जेठ ८ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने उक्त धार्मिक कार्यक्रममा दैनिक रूपमा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका लामाचौर निवासी शास्त्री पण्डित शिवदत्त रेग्मी ले संगीतमय शैलीमा पुरुषोत्तम महात्म्य कथा वाचन गरिरहेका छन् । कथा वाचनसँगै भजन, चुड्का, धार्मिक प्रवचन तथा आरती कार्यक्रमसमेत सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।

तारापति पौडेलको संयोजनमा सञ्चालन भइरहेको कार्यक्रममा धर्म, संस्कार, सामाजिक सद्भाव तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजक पक्षले जनाएको छ । कार्यक्रममा सहभागी भक्तजनहरूले कथा वाचनले धार्मिक आस्था र आत्मिक शान्ति प्राप्त गर्न सहयोग पुगेको बताए ।

संस्थाका सल्लाहकार ईन्द्रबहादुर थापा का अनुसार लेखनाथ क्षेत्रका वडा नं. २६ देखि ३३ सम्मका ज्येष्ठ नागरिक, सामाजिक व्यक्तित्व, स्थानीयवासी तथा भक्तजनहरूको दैनिक रूपमा उल्लेख्य उपस्थिति रहने गरेको छ । उनले धार्मिक तथा सामाजिक एकता प्रवद्र्धन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।

कार्यक्रम अवधिभर धार्मिक वातावरणसँगै भजन-कीर्तन, सत्संग तथा सामूहिक आरतीले शिशुवाचोक क्षेत्र भक्तिमय बनेको स्थानीयवासीले बताए । आयोजकले कथा वाचन कार्यक्रममा सहभागी भई धार्मिक लाभ लिन सम्पूर्ण श्रद्धालु भक्तजनलाई आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: