सेतीको खोचबाट युवकको शव उद्धार 

Share:

पोखरा । सेती नदीको गहिरो खोचमा हाम फालेर बेपत्ता भएका एक युवकको शव सशस्त्र प्रहरीले उद्धार गरेको छ। भारतको सितामढी स्थायी घर भई हाल घारिपाटन बस्दै आएका ३४ वर्षीय मुकेश महतो शनिबार राति करिब पौने १० बजे सेती नदीको खोचमा हाम फालेपछि बेपत्ता भएका थिए।

घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं.२४ गण हे.क्वा. कालिका, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको नेतृत्वमा १८ सदस्यीय विपद् व्यवस्थापन टोली घटनास्थल पुगेको थियो।

रातभर गरिएको खोजी अभियानमा सफलता नमिलेपछि टोली फर्किएको थियो। त्यसपछि आज बिहान ६:४० बजे सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा ११ सदस्यीय विशेष टोली पुनः परिचालन गरिएको थियो।

टोलीले करिब २५० फिट गहिरो खोचमा पुगेर ‘रोप रेस्क्यु’ प्रविधिको प्रयोग गर्दै बिहान ९:४५ बजे महतोको शव बाहिर निकालेको जनाएको छ।

उद्धारपछि शव नेपाल प्रहरीलाई बुझाइएको छ भने आवश्यक मुचुल्कापछि पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: