
पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा पोखरामा दुईदिने ‘समावेशी पत्रकारिता तथा क्षमता अभिवृद्धि’ तालिम सुरु भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा मंगलबारदेखि सुरु भएको तालिम बुधबारसम्म सञ्चालन हुनेछ ।
तालिम उद्घाटन गर्दै गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी ले पत्रकारितामा निरन्तर तालिम, क्षमता अभिवृद्धि र समावेशिताको अभ्यास अपरिहार्य रहेको बताइन् । उनले समाजको पिँधमा रहेका समुदायका आवाजलाई सञ्चार माध्यममार्फत केन्द्रसम्म पुर्याउनुपर्नेमा जोड दिइन् ।
गुरुङ, मगर, थकाली, तामाङ तथा दलित समुदायसहित भाषिक र सांस्कृतिक विविधताले भरिएको गण्डकी प्रदेशमा सबैका कथा, पीडा र सवाललाई मिडियाले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
“समावेशी पत्रकारिता केवल कोटा प्रणाली होइन, समाजको पिँधमा रहेका मानिसहरूको आवाजलाई केन्द्रसम्म ल्याउने अभ्यास हो,” भण्डारीले भनिन्, “पत्रकारिता सूचना प्रवाह मात्र नभई सामाजिक न्यायको महत्वपूर्ण माध्यम पनि हो ।”
उनले पत्रकारहरूलाई आफ्नो पहिचान र संस्कृतिको ‘ब्रान्ड एम्बेसडर’को संज्ञा दिँदै व्यावसायिक सुरक्षा र क्षमता विकासका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । आगामी बजेट तथा योजनामा पत्रकारका आवश्यकतालाई समेट्न सम्बन्धित निकायलाई आग्रह गर्दै तालिमबाट सिकेका सीप व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिइन् ।
फोनिजका संघीय महासचिव समिर बलामीले समावेशी पत्रकारिताको मुद्दालाई नारामा सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताए । उनले फोनिजको स्थापना सीमान्तकृत, अल्पसंख्यक तथा राज्यको पहुँचबाट टाढा रहेका समुदायका आवाजलाई मूलधारको सञ्चार माध्यममा ल्याउने उद्देश्यसहित भएको स्पष्ट पारे ।
“दैनिक पत्रकारितामा कम्तीमा २० देखि २५ प्रतिशत सामग्री समावेशिता, आदिवासी जनजाति र ओझेलमा परेका समुदायका मुद्दामा केन्द्रित हुनुपर्छ,” उनले भने, “त्यसले मात्र हाम्रो व्यावसायिक पहिचानको औचित्य पुष्टि गर्छ ।”
बलामीले पत्रकारहरू अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि आईएलओ–१६९ तथा संविधानले सुनिश्चित गरेका आदिवासी जनजातिका अधिकारबारे जानकार हुनुपर्ने बताए । राज्यका निकायमा समावेशिताको कार्यान्वयन भए/नभएको विषयमा सञ्चार माध्यमले खबरदारी गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना वर्षा शर्मा ले आदिवासी जनजाति समुदायका प्रतिभा र मुद्दालाई मूलधारको सञ्चार माध्यममा स्थापित गर्न विशेष पहल आवश्यक रहेको बताइन् । उनले यस्ता तालिमले पत्रकारको क्षमता अभिवृद्धिसँगै ओझेलमा परेका आवाजलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
“मिडिया निष्पक्ष भए मात्र लोकतन्त्र बलियो हुन्छ,” शर्माले भनिन्, “यसका लागि सबै क्षेत्रबाट दबाब र आवाज उठ्न जरुरी छ ।”
तालिममा कास्की, स्याङ्जा, बागलुङ, म्याग्दीलगायत जिल्लाका ५० जना पत्रकार सहभागी छन् । प्रशिक्षकका रूपमा फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङ, संघीय सचिव एमबी आस्थामगर तथा फोनिज गण्डकीका सल्लाहकार हुमबहादुर गुरुङ, दीपेन्द्र श्रेष्ठ र मनोज घर्ती मगर रहेका छन् ।
फोनिज गण्डकीकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव सुरज थापा ले गरेका थिए ।
