अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार-२०८३ भुपाल गुरुङलाई

Share:

पोखरा । ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार-२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

पुरस्कारको राशि २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र रहेको छ । आगामी जेठ २० गते घान्द्रुकमा आयोजना हुने अन्नपूर्ण म्याराथनको छैटौँ संस्करणको समापन समारोहमा उनलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका-घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित तथा सञ्चालित उक्त पुरस्कार अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने एक जना पत्रकारलाई हरेक वर्ष जुन ३ अर्थात् अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा प्रदान गरिन्छ ।

प्रतिभा छनोट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजबहादुर गुरुङ रहेका थिए । सदस्यहरूमा पत्रकार तथा आयोजक समितिका कानुनी सल्लाहकार हरिप्रसाद भट्टराई, मिडिया संयोजक पत्रकार टंकराज अधिकारी तथा पदेन सदस्यका रूपमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलिप गुरुङ रहेका थिए ।

यसअघि उक्त पुरस्कारबाट पत्रकारहरू बासुदेव पौडेल, दीपक परियार, रुपनारायण ढकाल, सन्तोष पोखरेल, रविचन्द्र पराजुली तथा रोहितराज पराजुली सम्मानित भइसकेका छन् । पत्रकार भुपाल गुरुङको जन्म स्याङ्जाको वालिङ नगरपालिका-३ राम्चे (साविक माझकोट शिवालय गाविस-२) मा भएको हो ।

उनी हाल पोखरा महानगरपालिका-१० अमरसिंह चोकमा बसोबास गर्दै आएका छन् । वि.सं. २०६४ सालदेखि पत्रकारितामा सक्रिय गुरुङ हाल पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययनरत छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न तालिमसमेत प्राप्त गरेका छन् ।

उनले गोर्खाली रेडियोमा तीन वर्ष, युनाइटेड राष्ट्रिय दैनिकमा पाँच वर्ष सहसम्पादक, सगरमाथा टेलिभिजनमा गण्डकी प्रदेश प्रमुखका रूपमा नौ वर्ष तथा विगत आठ वर्षदेखि कान्तिपुर टेलिभिजनमा कार्यरत रही पत्रकारिता गरिरहेका छन् ।

पत्रकारिता क्षेत्रमा योगदान पु¥याएबापत गुरुङ विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका छन् । उनले क्याप्टेन रुद्रमान स्मृति ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार-२०७६, टंकदेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कार-२०७८, नेपाल हवाई खेलकुद संस्था पत्रकारिता पुरस्कार-२०७९ तथा पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कार-२०७९ लगायतका पुरस्कार प्राप्त गरेका छन् ।

हाल उनी नेपाल पत्रकार महासंघ कास्कीका जिल्ला सचिव रहेका छन् । साथै आदिवासी जनजाति पत्रकार महासंघ, संसदीय पत्रकार मञ्च गण्डकी, नेपाल प्रेस युनियन, चलचित्र पत्रकार संघ लगायत विभिन्न संस्थामा आबद्ध छन्

कमेन्ट गर्नुहोस्
Share: