
पोखरा। पोखरा महानगरपालिका वडा नं.३२, राधाकृष्ण टोलस्थित उज्वल आमा समूहको २२ औं साधारणसभा एवम् दशौँ अधिवेशनले भीमकुमारी खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।
शनिबार सम्पन्न अधिवेशनबाट समितिको उपाध्यक्षमा कुमारी ढुङ्गाना, सचिवमा पार्वती कुँवर र कोषाध्यक्षमा शारदा खत्री निर्वाचित भएकी हुन् ।
यस्तै, समूहको सदस्यमा सुजन गुरुङ चयन भएका छन् भने सल्लाहकारहरूमा जमुना गिरी भुजेल, नेत्रबहादुर क्षेत्री र लक्ष्मी ढुङ्गाना रहेका थिए । यसअघि अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् युवा समाजसेवी मोहनकुमार प्रधानले गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रधानले समाजको समग्र विकासका लागि महिलाहरूको एकतावद्ध प्रयास र नेतृत्व अपरिहार्य रहेको बताए । आमा समूहको सक्रियतामा गरिने हरेक सामाजिक तथा रचनात्मक कार्यहरूमा आफ्नो तर्फबाट सदैव पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
समूहका निवर्तमान अध्यक्ष जमुना गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष निशा पौडेलले स्वागत मन्तव्य रमखेका थिए भने कार्यक्रमको सञ्चालन संगीता खतिवडाले गरेका थिए ।
साधारणसभा तथा अधिवेशनका अवसरमा समाजमा विशिष्ट योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो ।
उक्त कार्यक्रममा राधाकृष्ण वृद्धाश्रमका पूर्व अध्यक्ष प्रेम लिगल, कोषाध्यक्ष शिवबहादुर थापा, शिक्षासेवी हरिचन्द्र अधिकारी, राधाकृष्ण टोल सुधार समितिका अध्यक्ष नेत्र सुवेदी, आमा समूहका पूर्व अध्यक्ष लक्ष्मी ढुङ्गाना, सल्लाहकार प्रभा पौडेल सुवेदी, माया क्षेत्री तथा चन्द्रबहादुर सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ कार्यसमितिको सुखद कार्यकालको कामना गरेका थिए ।
