
पोखरा । भूमी प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कँडेल ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार सेवाग्राहीबाट घुस माग गरेको भन्ने उजुरी र सूचनाका आधारमा निगरानी गरेको थियो । सोही क्रममा कँडेललाई कार्यालय परिसरबाटै ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको हो ।
खानतलासीका क्रममा उनीबाट स्रोत नखुलेको थप २१ हजार ७० रुपैयाँ पनि बरामद भएको आयोगले जनाएको छ । उक्त रकमको स्रोतबारेसमेत अनुसन्धान भइरहेको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले सेवाग्राहीको उजुरीका आधारमा नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए । कँडेलविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।
