
पोखरा। नेसनल प्याब्सन कास्कीको आयोजनामा सम्पन्न तेस्रो विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।
विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन तथा बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा एन प्याब्सनमा आबद्ध विद्यालयहरूबाट छात्रतर्फ ३३ र छात्रातर्फ २८ जना सहभागी भएका थिए।
छात्रतर्फ साइनिङ स्टार बोर्डिङ स्कुलका शिशिर पौडेल प्रथम, लाविन रेसिडेन्सियल स्कुलका एरोन तिमिल्सिना द्वितीय तथा गण्डकी एकेडेमी कास्कीका संयोग न्यौपाने र नेशनल क्रियशन एकेडेमीका कुशल श्रिमाली संयुक्त रूपमा तृतीय भए।
त्यसैगरी छात्रातर्फ गण्डकी एकेडेमी कास्कीकी सृष्टि न्यौपाने प्रथम, ज्ञानज्योति विद्याकुञ्ज माविकी जेशिका गुरुङ द्वितीय तथा कास्की मोडर्नाइज्ड एकेडेमीकी ग्रिष्मा सापकोटा र न्यू ग्यालेक्सी सेकेन्डरी स्कुलकी स्वच्छा प्रधान संयुक्त तृतीय घोषित भए। विजेता विद्यार्थी तथा विद्यालयहरूलाई पुरस्कार वितरण गरिएको थियो।
प्रतियोगितामा चिफ आर्बिटर नरेन्द्र रानाभाट, डेपुटी आर्बिटर सागर शाही तथा आर्बिटरहरू सुशील सुवेदी र विमलेस नाल्मीले सहजीकरण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता मूल्याङ्कन तथा विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले विद्यार्थीका अन्तरनिहित प्रतिभा उजागर गर्न बुद्धिचाल प्रतियोगिता प्रभावकारी माध्यम बनेको उल्लेख गरे।
मन्टेसरी एसोसिएसन कास्कीकी अध्यक्ष रितु पौडेलले नेसनल प्याब्सनका शैक्षिक तथा सिर्जनात्मक गतिविधिहरू प्रशंसनीय रहेको बताइन्।
युनिप्स नेपालका केन्द्रीय उपाध्यक्ष विनोद नेपालीले प्रतियोगिताले विद्यार्थीहरूको तार्किक सोच र बौद्धिक क्षमतामा थप निखार ल्याएको धारणा राखे।
नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तथा कार्यसमिति सदस्य शिवराज पौडेलले गरेका थिए।
प्रतियोगिताले विद्यार्थीहरूमा रणनीतिक सोच, धैर्यता र निर्णय क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
